इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साउथह्याम्टनमाथि सानदार जित हात पार्दा ह्यारी केनले नयाँ कीर्तिमान बनाएका छन्।
मंगलबार भएको खेलमा टोटनह्यामले साउथह्याम्टनमाथि ५–२ को फराकिलो जित निकाल्नेक्रममा ह्यारी केन नायब भए।
टोटनह्यामको जितमा ह्यारी केनले ह्याट्रिक गरेका थिए। उनले खेलको २२, ३९ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। योसागै इंल्यान्डका स्ट्राइकर केनले वर्ष २०१७ मा लिग गोल संख्या ३९ पुर्याए।
योसँगै सन् १९९५ मा एलन सेररको कीर्तिमानलाई उनले भंग गरे। ब्ल्याकबर्नका एलनले सन् १९९५ मा लिगमा एकै वर्ष ३७ गोल गर्दै कीर्तिमान बनाएका थिए।
केनले क्लब र देशका लागि सन् २०१७ मा ५६ गोल गरे। यो गोल संख्या बार्सिलोनाका अर्जेन्टायन स्ट्राइकर लियोनल मेसीको भन्दा २ बढी हो। मेसीले क्लब र मुलुकका लागि गरी ५४ गोल गरेका थिए।
टोटनह्यामका लागि डेल अलीले ४९ र सन हेउन मिनले ५१ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। साउथह्याम्टनका बाउफलले ६४ र टाडिकले ८२ मिनेटमा गोल गरेका थिए।
जितपछि टोटनह्याम २० खेलबाट ३४ अंक बनाएर लिगको चौथो स्थानमा उक्लिएको छ। साउथह्याम्टन समान खेलबाट १९ अंकसहित १४औं स्थानमा छ।
https://www.youtube.com/watch?v=tj3JVJWAHt8