चेल्सी काराबाओ कपको सेमिफाइनलमा


चेल्सी इंग्लिश लिग कप फुटबल (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति बर्नेमाउथलाई २-१ ले हराउँदै चेल्सी अन्तिम चारमा स्थान बनाएको हो। योसँगै चेल्सी १३ औं पटक इन्ग्लिश लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन विलियन र अल्भारो मोराटाले एक-एक गोल गरे। बर्नेमाउथका डान गोस्लिङले एक गोल फर्काएका थिए।

पहिलो हाफको १३ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफ १-० ले अगाडि रहेको चेल्सी दोस्रो हाफमा केही आक्रमक रूपमा प्रस्तुत भए पनि गोल गर्न सकेन।

दोस्रो हाफको ९० औं मिनेटमा बर्नेमाउथका गोस्लिङले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयको अन्तिम मिनेटमा चेल्सीका मोराटाले गोल गर्दै चेल्सीलाई २-१ को संघर्षपूर्ण जित दिलाए ।

अब चेल्सीले फाइनल प्रवेशको लागि आर्सनलसँग खेल्ने भएको छ। यसअघिनै वेष्ट ह्यामलाई १-० ले हराएको आर्सनल सेमिफाइनलमा पुगिसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.