फ्रेन्च लिगमा पिएसजीको पहिलो हार

फ्रेन्च लिगमा पिएसजीको पहिलो हार


फ्रेन्च लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन(पिएसजी) स्ट्रासवर्गसँग २–१ गोलले पराजित भएको छ। हारसँगै पिएसजीको २२ औं खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

घरेलु मैदानमा स्ट्रासवर्गले खेलको १३ औं मिनेटमा डा कोस्टाको गोलबाट अग्रता लिएको थियो। यसपछि खेलको ४२ औं मिनेटमा पिएसजीका एमबाप्पेले गोल गरेपछि पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६५ औं मिनेटमा बाहोकेनले एक गोल गरेपछि स्ट्रासवर्गले २ – १ को सहज जित निकाल्यो। दोस्रो हाफमा पिएसजिका स्ट्राइकरहरू नेयमार, काभानीलगायतको प्रहार विफल भएका थिए।

हारपछि पनि शीर्ष स्थानमै रहेको पिएसजीले १६ खेलबाट ४१ अंक जोडेको छ। ३२ अंक जोडेर मोनाको लिगको दोस्रो स्थानमा रहँदा ३१ अंक जोडेको मार्सेली चौथो स्थानमा छ। १८ अंक जोडेको स्ट्रासवर्ग भने लिगको १६ औं स्थानमा छ।

शनिबार राति नै भएको खेलमा मोनाकोले एन्जर्सलाई १ – ० ले पराजित गरेको छ। मोनाकोको जितमा निर्णायक गोल राडमेल फाल्काओले गरेका थिए। त्यस्तै, लिलेले पनि टोउलोसेलाई १–० ले नै पराजित गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.