मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा समूह 'सी' अन्तर्गतको पाँचौं खेलमा इंग्ल्याण्ड र नेपाल भिड्दैछन्। खेल आइतबार नेपाली समयअनुसार दिउँसा सवा तीन बजे हुँदैछ।
नेपालविरूद्ध इंग्ल्यान्डले टस जितेको छ भने पहिले ब्याटिङ गर्ने भएको छ। नेपाली टोलीमा शेर मल्लले डेब्यू गर्दैछन्। यस्तै शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन्।
नेपाली टोली
कुशल भुर्तेल
आसिफ शेख
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
लोकेश बम
गुलशन झा
करण केसी
शेर मल्ल
नन्दन यादव
सन्दीप लामिछाने
टिम इंग्ल्यान्ड
फिल साल्ट
जोस बटलर
जेकब बेथेल
टम ब्यान्टन
ह्यारी ब्रुक
स्याम कुरान
विल ज्याक्स
लियाम डसन
जोफ्रा आर्चर
आदिल रशीद
लुक वुड
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्। प्रतियोगिताको 'सुपर ८' चरणमा पुग्न दुवै टोलीका लागि यो खेल जित्दै सुखद सुरुवात गर्नु निकै महत्त्वपूर्ण छ।
सन् २०२२ को टी-२० विश्वकप जितेयता इंग्ल्याण्डको यात्रा सहज रहेन।
२०२३ को एकदिवसीय विश्वकप र २०२५ को च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनका साथै 'एसेज' सिरिजमा पनि उसले हार बेहोरेको थियो। तर, पछिल्लो एक वर्षमा इंग्ल्याण्डले उत्कृष्ट पुनरागमन गरेको छ। उसले खेलेका पछिल्ला ११ खेलमध्ये १० खेलमा जित हात पारेको छ। उसले श्रीलंकाविरुद्धको ३-० को क्लिन स्विप गरेको थियो।
इंग्ल्याण्डको मुख्य शक्ति उसको ब्याटिङ हो। जोस बटलर, टम बान्टन, ह्यारी ब्रुक र साम कुरान जस्ता खेलाडीहरूले जुनसुकै बेला खेलको नतिजा बदल्न सक्छन्। बलिङतर्फ स्पिनमैत्री पिचलाई ध्यानमा राख्दै इंग्ल्याण्डले आदिल राशिद, रेहान अहमद र लियाम डसन जस्ता स्पिनरहरूलाई टोलीमा राखेको छ। तीव्र बलिङमा जोफ्रा आर्चरले नेतृत्व गर्नेछन्।
नेपाल 'जायन्ट-किलर' बन्ने दाउमा
सन् २०२४ को विश्वकपमा छनोट भएपछि नेपाली क्रिकेटको स्तरमा ठूलो सुधार आएको छ।
पछिल्लो समय नेपालले खेलेका २३ खेलमध्ये १७ मा जित निकाल्दै आफ्नो आत्मबल बढाएको छ। गत असोजमा शारजाहमा वेस्ट इन्डिजविरुद्ध २-१ को ऐतिहासिक सिरिज जित्नु नेपालका लागि कोशेढुङ्गा सावित भयो। नेपाल अब ठूला टोलीहरूलाई चुनौती दिन सक्ने सक्षम टोली बनेको छ।
नेपालको ब्याटिङ कुशल भुर्तेल र आसिफ शेखमाथि धेरै निर्भर छ। कुशल भुर्तेल र उप-कप्तान दीपेन्द्र सिंह ऐरी दुवैसँग टी-२० मा शतक प्रहार गरेको अनुभव छ। बलिङतर्फ सन्दीप लामिछाने नेपालका मुख्य स्पिनर हुन्, जो विश्वका कुनै पनि ब्याटिङ लाइनअपका लागि खतरा बन्न सक्छन्।
दुवै टोलीले आफ्ना पछिल्ला ५ खेलमा लगातार जित हात पारेका छन्।
वानखेडेमा इंग्ल्याण्डले यो मैदानमा खेलेका ४ खेलमध्ये २ मा जित र २ मा हार बेहोरेको छ।
वानखेडे स्टेडियमको पिच ब्याटिङका लागि राम्रो मानिने हुनाले यो खेल उच्च स्कोरको हुने अपेक्षा गरिएको छ। यद्यपि इंग्ल्याण्डका ब्याटरहरू कहिलेकाहीँ स्पिन बलिङमा फस्ने गरेकाले नेपालका स्पिनरहरूले यो खेलमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।