अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा पराजय भोगेको छ।
नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको हो।
बिहीबार विहान भएको पहिलो अभ्यासमा पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४६ रन जोड्यो। नेपालका लागि भीम सार्कीले ३२ रन, दीपेन्द्रसिंह ऐरीले २६ रन, आसिफ शेखले २२ रन र आरिफ शेखले २१ बनाए। बलिङमा साउथ अस्ट्रेलियाका चामबेल थमसन, थोमस ब्राउन र ह्यारी मनेन्टीले २-२ विकेट लिए।
१४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकाल्यो। साउथ अस्ट्रेलियाका लागि जेक विन्टरले सबैभन्दब ढी ३६ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट र नन्दन यादवले २ विकेट लिन सफल भए।
दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भयो। पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले १६० रन जोड्यो। उसका लागि रायन किंगले ३४ रन बनाए भने ड्यानियल ड्र्यु र ह्यारी मनेन्टीले २९ रन बनाए। बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने शाहब अलामले २ विकेट हात पारे।
१६१ रनको लक्ष्य पछ्याएको नेपाल १५७ रन रन मात्र बनाउन सक्यो। नेपालका लागि रुपेश सिंहले १९ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३७ रन बनाए भने भीम सार्कीले २९ रनको योगदान गरे। बलिङमा थमसनले ४ विकेट लिए।
नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो।
यसअघि टप एन्ड सिरिज खेलेको नेपालले अब अभ्यास खेलमा ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ।
विश्वकप छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम।