नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बन्द प्रशिक्षणका लागि रूपन्देहीको भैरहवा आएको छ। उक्त महिला क्रिकेट टोलीलाई रूपन्देही क्रिकेट संघले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गरेको हो।
रूपन्देही क्रिकेट संघका कोषाध्याक्ष निरजप्रताप खाणले आगामी मे महिनामा हुने विश्वकप एसिया छनोट खेलको तयारी गर्न बन्द प्रशिक्षणका लागि महिला क्रिकेट टिम भैरहवा आएको जानकारी दिए।
आइतबारदेखि हुने प्रशिक्षणका लागि २६ सदस्यीय महिला क्रिकेट टोली सनिवार साँझ भैरहवा आईपुगेका हुन्।
‘हामीले खेलाडीको हौसलाका लागि विमानस्थलमा गएर स्वागत गरेका हौं,’ उनले भने, ‘भैरहवामा यसअघि पुरुष राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भएको थियो। लगत्तै महिला टिमको बन्द प्रशिक्षण हुँदैछ। यो यस क्षेत्रका लागि सकारात्मक सन्देश हो,’ कोषाध्यक्ष खाणले भने।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को कार्यक्रमअनुसार मे महिनामा थाइल्याण्डमा एसिया क्षेत्र छनोट खेल हुँदैछ। नेपाल क्रिकेट संघका क्रिकेट अप्रेसन म्यानेजर विनोदकुमार दासका अनुसार महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो चरणको प्रशिक्षण हो। यसअघि पहिलो चरणको बन्द प्रशिक्षण भइसकेको छ भने दोस्रो चरणको बन्द प्रशिक्षण भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुन लागेको हो।
इन्दु बर्माको कप्तानीमा रहेको राष्ट्रिय महिला क्रिकेट टिम आइतबारदेखि वैशाख १७ गतेसम्म बन्द प्रशिक्षणमा रहने र प्रशिक्षणपछि नेपाली महिला क्रिकेट टोली थाइल्याण्ड प्रस्थान गर्नेछ। रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले राष्ट्रिय टिमको बन्द प्रशिक्षण भैरहवामा हुँदा यसले रूपन्देही र आसपासको क्रिकेट क्षेत्रमा नयाँ उत्साह ल्याउने बताए।
क्रिकेटको राष्ट्रिय टिमको बन्द प्रशिक्षण सञ्चालनले भैरहवाको क्रिकेट मैदानको विकासका लागि सरकारको पनि ध्यान तानिने उनले विश्वास गरे। ‘सिद्धार्थ रंगशाला पछिल्लो समय राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि रोजाइ बनेको छ,’ उनले भने, ‘निरन्तर राष्ट्रिय पुरुष र महिला टिमको बन्द प्रशिक्षण भइरहँदा भोलिका दिनमा यहाँको मैदानको विकासमा समेत सरकारको ध्यान बढी केन्द्रित हुने हाम्रो विश्वास छ,’ उनले भने।
