आइपिएल २०२५ को अन्तर्गत लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
लखनऊमा गुजरातले टस जितेर पहिले ब्याटिङ गर्दा शुभमन गिल र साई सुदर्शनले राम्रो सुरुवात गर्दै १२ ओभरसम्म १२० रनको साझेदारी गरे। गिलले ६० रन र सुदर्शनले ५६ रन बनाए।च शेरफेन रदरफोर्डले २२ रन बनाए। लखनऊका लागि शार्दुल ठाकुर र रवि बिश्नोईले दुई-दुई विकेट लिए।
१८१ रनको लक्ष्य पछ्याउँदै लखनऊले आक्रामक सुरुवात गर्यो। कप्तान ऋषभ पन्त र एडेन मार्करमले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे। पन्त २१ रनमा आउट भएपनि मार्करमले अर्धशतक पुरा गरे। उनले ३१ बलमा ५८ रन बनाए।
निकोलस पूरनले आक्रामक ब्याटिङ गर्दै साई किशोरको एक ओभरमा तीन छक्का प्रहार गरे। उनले ३४ बलमा ६१ रन बनाए। आयुष बदोनीले २० बलमा २८ रन बनाएर जित सुनिश्चित गरे।
यस जितसँगै लखनऊले ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। गुजरात टाइटन्स पनि ८ अंक नै रहेपनि नेट रन रेटका आधारमा दोस्रो छ। ८ अंक भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ।