भैरहवामा पूर्वमहिला क्रिकेट खेलाडीहरूबीच भएको ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ मा सन् २००९ को टिम विजयी भएको छ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा सोमबारदेखि महिला लेजेण्ड सिरिज आयोजना गरिएको थियो।
यसअघि पुरूष खेलाडीहरूका बीच पुरूष लेजेण्ड सिरिज आयोजना हुँदै आए पनि महिला लेजेण्डबीचको खेल भने मुलुकमै पहिलोपटक आयोजना गरिएको थियो। सन् २००७ र २००९ मा खेलेका पूर्व राष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरूको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको थियो।
सोमबार र मंगलबार भएका दुबै खेलमा सन् २००७ को टिमलाई ८१ रनले हराउँदै सन् २००९ को टिमले सिरिज आफ्नो पक्षमा पारेको हो।
मंगलबार सम्पन्न सिरिजमा टस जितेर ब्याटिङ गरेको सन् २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनायो। २००९ का लागि करुण भण्डारीले ३२ रन बनाई भने रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०–१० रन बनाए।
बलिङमा सन् २००७ का नेरी थापा मगरले ३, सुस्मिता चौधरीले २ र नितु थापाले १ विकेट हात पारिन्।
जबाफमा सन् २००७ को टिम ८ विकेट गुमाएर ६८ रनमै समेटियो र हार व्यहोर्यो। सन् २००७ का लागि निरा राजउपाध्यायले २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा सन् २००९ को टिमकी सरस्वती पुन र सीता शाहीले २–२ तथा रितु कनौजिया र करुणा भण्डारीले समान १–१ विकेट लिए।
रूपन्देही क्रिकेट संघको सहआयोजनामा भएको सिरिजमा सन् २००८ की करुणा भण्डारीलाई बेष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो।