राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ।
तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो। पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो। ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो। कप्तानी रित गौतमले आक्रमक पारी खेल्दै्र १५ बलमा ३६ रनको योगदान दिए। उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे। उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए। त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो। पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो। सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३-३ विकेट हात पारे। दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए। पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन्। पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २-२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३-३ रन बनाए। समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए। त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १-१ विकेट हात पारे।
सोही समूहको दोस्रो खेलमा हेटौडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ। समूह चरणको प्रतिठानको खेलको रुपमा रहेको उक्त खेलमा हेटौडाले बाजी मारेको हो।
१७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८.४ ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो। हेटौडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले। उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। राम नरेश गिरिले २० रनको अविजित पारी खेले। सुभ कंशाकरले ४२ रनको पारी खेल्दै क्याचआउट हुन पुगे। उनले २० बलमा ४ चौका, ४ छक्का प्रहार गरे। ओपनर गोकुल अधिकारी १७ रनमा आउट भए। युविन बुढाथोकीले ३० रन जोडे। उनले २८ बलमा ४ चौका प्रहार गरे। सुमन सुनार शुन्य र गौरभ खड्का ३ रनमा आउट भए।
स्याङजाका लागि सुजन गौतमले २ तथा मिलन लुइटेल, सन्दिप खत्री क्षेत्री र अस्विनी रानाले समान १-१ विकेट लिए।
टस जितेर ब्याटिङ थालेको स्याङजा १९.५ ओभरमा १७६ रन बनाउँदै अलआउट हुन पुग्यो। ओपनर इश्वर क्षेत्री ९ रन बनाउँदै बोल्ड भए। करण पगेनी ११ रनमा क्याच आउट भए। सन्दिप क्षेत्रीले ७० रनको उत्कृष्ट पारी खेले। उनले ४३ बलको सामना गर्दै ५ चौका र ५ छक्का प्रहार गरे। दिपेश न्यौपाने २ रनमा एल्बीडब्लु आउट भए। सुजन गौतम १९ रनमा क्याचआउट भए। अस्विनी रानाले ४३ रनको योगदान दिए। उनले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। मिलन क्षेत्र ३, किरण भट्टराई ३, अभिषेक भट्टराई र मिलन लुइटेल शुन्यमै आउट भए।
हेटौडाका असिम श्रेष्ठले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए। अकिलेश ठाकुरले २ तथा सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १-१ विकेट लिए। समूह ‘ए’ बाट पोखरासहित स्याङजा र हेटौडा समेत बाहिरिएको छ।
प्रतियोगिताको चौथो दिन भोलि समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ।