नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट हङकङमा हुने चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। यो सिरिजमा नेपालले घरेलु टोली हङकङसहित कुवेत र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
हङकङ भ्रमणलाई नेपालले आइसिसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङ भ्रमणलाई विश्वकप छनोटको तयारीको रूपमा लिएको बताए।
सोमबार विदाइ कार्यक्रममा उनले टोलीमा केही खेलाडीले कमब्याक गरेको बताउँदै राम्रो खेलेर सिरिज जित्ने विश्वास व्यक्त गरे।

सिरिजका लागि नेपाली टोलीको प्रशिक्षक रहेका ज्ञानेन्द्र मल्लले आगामी प्रतियोगितामा राम्रो गर्नका लागि हङकङ सिरिज महत्वपूर्ण हुने बताए।
सिरिजमा नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ। चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ।
हङकङमा खेलेपछि नेपालले जुनमा अर्को टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। आइसिसी विश्वकप लिग-२ को सिरिजका दौरान स्कटल्यान्ड भ्रमण गर्ने नेपालले घरेलु टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
जुलाईमा फेरि नेपाली टोलीले टी-२० विश्वकप छनोटकै तयारीका लागि भनेर श्रीलंका भ्रमण गर्ने कार्यक्रम छ। वर्षातको समय छल्न नेपाली टोली श्रीलंकामा गएर तयारी गर्ने क्यानको भनाइ छ।
त्यसपछि नेपाली टोली अस्ट्रेलिया पुग्नेछ। अस्ट्रेलियामा अगस्टमा नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ।
सेप्टेम्बरमा नेपाली टोली विश्वकपको तयारी गर्नका लागि युएई जानेछ। युएईमा नेपालले टेस्ट टोलीसँग टी-२० सिरिज खेल्ने तालिका छ। यसरी नेपालले हङकङबाट आफ्नो टी-२० विश्वकप छनोटको तयारी सुरु गरेर युएईमा सक्ने तालिका छ।
नेपालले टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिताको तयारीका लागि हङकङसहित पाँच देशमा तयारी गर्ने तालिका छ।
पाँच देशमा तयारी गरेपछि नेपालले अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।
टी-२० विश्वकप २०२६ को एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट अक्टोबर १ देखि ओमानमा हुँदैछ। प्रतियोगितमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२४ मा पुग्नेछन्।
हङकङ सिरिजका लागि नेपाली टोली
१. रोहित पौडेल (कप्तान)
२. आसिफ शेख
३. कुशल भुर्तेल
४. लोकेस बम
५. बसिर अहमद
६. दीपेन्द्रसिंह ऐरी
७. कुशल मल्ल
८. ललित नारायण राजवंशी
९. सोमपाल कामी
१०. करण केसी
११. साहब आलम
१२. नन्दन यादव
१३. रिजन ढकाल
१४. गुलशन कुमार झा