रूपन्देहीमा नेपाल वुमन्स लेजेण्ड सिरिज २०८१ हुने भएको छ।
नेपालका पूर्व महिला क्रिकेट खेलाडीहरूको बीचमा हुने लेजेण्ड सिरिज पहिलोपटक हो।
रूपन्देही क्रिकेट संघको सहआयोजनामा यही चैत २५ र २६ गते हुने प्रतियोगितामा पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरूको दुई टिम सहभागी हुने छन्।
सन् २००७ र २००९ ब्याचलाई समेटेर १७ वर्षको अन्तरालमा प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक नितु थापाले जानकारी दिइन्। खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने छ।
प्रतियोगिताका लागि देशका विभिन्न ठाउँबाट खेलाडीहरू आइसकेको तथा अन्य प्राविधिक पक्षमा काम पूरा भएको थापाले बताइन्।
टी–ट्वान्टी फर्म्याटमा हुने प्रतियोगितामा २००७ को टिममा नेरी थापामगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लाम्गादे, बिनु बुढामगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिंह, ममता थापा, ज्योति कुँवर सहभागी छन्।
यस्तै, २००९ को टिममा रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिनाकुमारी थापा, रोजी कडारी, सीता शाही, निमा महर्जन, करुणा भण्डारी छन्।
यसअघि पुरूषहरूको मात्र लेजेण्ड प्रतियोगिता हुँदै आएकोमा महिलाहरूबीच पहिलोपटक सिरिज हुन लागेको हो।
रूपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा र नेपाल खेलकुद पत्रकार मञ्च रूपन्देहीका अध्यक्ष सुमन अधिकारीले रूपन्देही जिल्लालाई छनोट गरी आयोजना गरिएको प्रतियोगिताले क्रिकेटको विकाससँगै यस क्षेत्रको पर्यटनमा समेत टेवा मिल्ने बताए।