आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ टोलीलाई अफगानिस्तानको युवा टोलीले लगातार दोस्रो खेलमा पराजित गरेको छ।
मुलपानीमा आइतबार भएको दोस्रो खेलमा नेपालमाथि अफगानिस्तानले एक रनको रोमञ्चक जित निकाल्यो। यससँगै तीन खेलको एकदिवसीय युवा सिरिज अफगानिस्तानले अन्तिम खेलअघि नै जित्यो।
अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम तीन बल खेल्न बाँकी छदा १६७ रनमा अलआउट भयो।
नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो भने ९ विकेट गइसकेको थियो। जसमा नेपालका ध्रुव सोनारले पहिलो र तेस्रो बलमा चौका प्रहार गरेर नेपाललाई आसा दिलाए। तर चौथो बल नो-बल भए पनि ध्रुव रनआउट हुन पुगे। उनले ३१ बलमा २१ रन जोड्न सके।
त्यसअघि नेपालले पछिल्ला पाँच विकेट सस्तैमा गुमायो। नेपालले छैटौं विकेट ४० ओभर चल्दै गर्दा १३८ रन बनाउँदा गुमाएको थियो। त्यसपछि पछिल्लो दश ओभर नसकिदै नेपालले २९ रन बनाउँदा पाँच विकेट गुमायो।
नेपालका सिब्रिन श्रेष्ठ २ रन, दिलसाद अली ८ रन, रोशन विक ९ रन, सन्तोष यादव ४ रन र अपराजित पौडेल शून्यमा आउट भए।
अभिषेक तिवारी २५ बलमा २४ रन बनाएर आउट भएका थिए।
नेपालका लागि ओपनर साहिल पटेलले ६४ रन जोडे। उनले ११९ बलमा ६ चौका प्रहार गरे। निरजकुमार यादव १५ रन र कप्तान नरेन भट्ट १३ रन बनाएर आउट भए।
बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले २-२ विकेट लिए।
तीन खेलको अभ्यास सिरिजमा मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुँदा १६८ रन जोड्यो।
अफगानिस्तानका लागि कप्तान मेहबुब खानले ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गर्न सके। रहुल्लाह अरबले २७ रन जोडे भने अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २३ रन मात्र दिए। सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले २-२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलको नाममा १-१ विकेट रह्यो।
विश्वकप छनोटको तयारीका लागि दिल्लीको यू-१९ टोलीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफगानिस्तानसँग पनि तीन खेलको सिरिज खेलेको हो। दिल्लीविरूद्ध नेपालले तीनै खेलमा जित निकालेको थियो।
अफगानिस्तानसँगको पहिलो खेलमा भने नेपाल १३० रनको फराकिलो अन्तरले पराजित भएको थियो।
नेपालले चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ। प्रतियोगिता चैत ३० देखि सुरू हुँदैछ।
एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।