लुम्बिनी प्रदेशस्तरीय टी–२० क्रिकेट च्याम्पियनसिपका लागि रूपन्देही जिल्लाले खेलाडी छनोट गरेको छ।
रूपन्देही क्रिकेट संघका उपाध्यक्ष धीरज अधिकारी क्षेत्रीको संयोजकत्वमा रहेको छनोट समितिले युवा खेलाडी देव खनालको कप्तानीमा १४ जना खेलाडी छनोट गरेको हो।
प्रदेश खेलकुद परिषद, लुम्बिनी प्रदेशको आयोजनामा सोमबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान र गुलरिया क्रिकेट मैदान, घोराहीमा प्रतियोगिता हुँदैछ।
छनोट समितिका संयोजक क्षेत्रीले खेलाडीहरूको अहिलेसम्मका प्रदर्शनका आधारमा रूपन्देही जिल्लास्तरीय टिम छनोट गरिएको जानकारी दिए।
प्रतियोगितामा रूकुम पूर्व बाहेकका ११ जिल्ला सहभागी हुँदैछन्।
दुई समूहमा विभाजन गरी खेलाउन लागिएको प्रतियोगिताको समूह ‘ए’ मा बाँके, रूपन्देही, पश्चिम नवलपरासी, गुल्मी, अर्घाखाँची र बर्दिया छन्।
यस्तै, समूह ‘बी’ मा पाल्पा, दाङ, रोल्पा, प्यूठान र कपिलवस्तु जिल्लाका टिम समावेश छन्।
यही चैत २५ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा रूपन्देहीले सोमबार पहिलो खेल लमहीमा पश्चिम नवलपरासीसँग खेल्नेछ।
देव खनालको कप्तानीमा रहेको रूपन्देहीको टिममा मिर्नाल गुरूङ, प्रज्वल थापा, मनिष थापा, सन्दीप मौर्य, सुमन पाण्डे, कृष्ण कार्की, विप्रसन केसी, सन्देश थापा, अजयकुमार चौहान, रमेश कुर्मी, सुरज खड्का, आशुतोष पाण्डे र रञ्जित मौर्य समावेश छन्।
यस्तै, टिम प्रशिक्षकमा कृष्ण कुँवर र व्यवस्थापकमा विजयसिंह ज्ञवाली रहेका छन्।