आइपिएल २०२५ अन्तर्गत कोलकता नाइटराइडर्सविरूद्धको खेलमा मुम्बई इन्डियन्सका देब्रे तीव्र गतिका बलर अश्विनी कुमारले चार विकेट लिएका छन्।
उनले डेब्यू खेलमै चार विकेट लिन सफल भएका हुन्। आइपिएलको आफ्नो पहिलो बलमै कोलकताका कप्तान अजिन्का राहाणेलाई आउट गरेका अश्विनीले रिंकु सिंह, मनिष पाण्डे र आन्दे रसेललाई आउट गरे। मनिष पाण्डे र आन्द्रे रसेललाई उनले बोल्ड गरेका थिए।
यससँगै उनी आइपिएलको डेब्यू खेलमा चार विकेट लिने पहिलो भारतीय बलर बन्न सफल भएका छन्।
उनी घरेलु क्रिकेटको डेथ ओभरमा उत्कृष्ट बलिङ गरेपछि चर्चामा आएका थिए। मोहालीमा जन्मिएका उनलाई मुम्बईले ४० लाख भारूमार्फत् अक्सनबाट टोलीमा आबद्ध गरेको थियो।
२३ वर्षीय अश्विनीको चार विकेटसँगै मुम्बईले कोलकतालाई १६.२ ओभरमा ११६ रनमै अलआउट गरेको छ। कोलकताका लागि अंक्रिस रघुवंशीले सबैभन्दा बढी २६ रन जोडे।
बलिङमा अश्विनीले चार विकेट लिँदा दीपक चाहरले २ विकेट हात पारे।