इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले लगातार दोस्रो हार ब्यहोरेको छ।
गएराति दोस्रो खेलमा मुम्बई गुजरात टाइटन्ससँग ३४ रनले पराजित भएको छ। यसअघि मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति गुजराविरूद्ध १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले ६ विकेट गुमाएर १६० रन मात्रै बनाउन सक्यो।
भारतीय राष्ट्रिय टिमका कप्तानसमेत रहेका मुम्बईका ओपनर रोहित शर्मा चार बल खेलेर आउट भएका थिए। उनले ८ रनमात्रै बनाए।
अर्का ओपनर रियान रिकेल्टनले ६ रनमात्रै बनाएर आउट भए। कप्तान हार्दिक पाण्ड्याले ११ रनमात्रै बनाए।
नमन धीर र मिचेल सान्टनरले नट आउट १८/१८ रन बनाए।
त्यसअघि सूर्यकुमार यादवले २८ बलमा १ चौका र ४ छक्का हानेर ४८ रनको योगदान गरे। तिलक वर्माले ३६ बलमा तीन चौका र १ छक्का हानेर ३९ रन जोडे। अरू ब्याटरहरू टिक्न सकेनन्।
बलिङतर्फ गुजरातका मोहम्मद सिराज र प्रसिध कृष्णले दुई/दुई तथा कगिशो रबाडा र साइ किशोरले एक/एक विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १९६ रन जोडेको थियो।
गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ६३ रन बनाए। उनले ४१ बलमा चार चौका र २ छक्का हाने।
अर्का ओपनर एवम् कप्तान शुभमन गिलले २७ बलमा चार चौका र एक छक्का हानेर ३८ रन बनाए। त्यसपछि सर्फेन रथरफोर्डले १८ रन बनाए। अन्य ब्याटरहरू टिक्न सकेनन्।
बलिङतर्फ मुम्बईका कप्तान हार्दिक पाण्ड्याले २ विकेट लिएका थिए। त्यस्तै ट्रेन्ट बोल्ट, दीपक चाहर, मुजिब उर रहमान र सत्यनारायण राजुले एक/एक विकेट लिए।
गुजरातको यो पहिलो जित हो। यसअघि गुजरात पञ्जाब किंग्ससँग पराजित भएको थियो।