दिल्ली यू-१९ टोलीको तीन खेलको एकदिवसीय सिरिज नेपाली यू-१९ ले क्लिनस्विप गरेको छ। वीरगञ्जमा भएको सिरिजको पहिलो तेस्रो खेलमा दिल्लीलाई ५१ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो।
यसअघि लगातार दुई खेल जितेर नेपालले सिरिज जितिसकेको थियो।
शनिबार पहिले ब्याटिङ गरेको नेपाल ३९.४ ओभरमा १२२ रनमा अलआउट भयो। नेपालका लागि रोसन विक र युवराज खत्रीले १८-१८ रन बनाए। साहिल पटेलले १७ रन र सोहिल कुँवरले १५ रन बनाए।
बलिङमा दिल्लीका किरित कौशिकले ५ विकेट लिए।
१२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमै अलआउट भयो। उसका लागि रौनक वाघेलले १७ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकम रन जोड्न सकेनन्।
बलिङमा नेपालका दयानन्द मण्डलले ४ विकेट लिए भने विपिनप्रसाद शर्माले २ विकेट लिए। नितिश पटेलको नाममा १ विकेट रह्यो।
विश्वकप छनोटको तयारीका लागि दिल्लीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफागानिस्तानसँग पनि तीन खेलको सिरिज खेल्ने तय छ। अफगानिस्तानसँगको सिरिज चैत २१ देखि मुलपानीमा हुनेछ।
नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ।
एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।
नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
नेपाली टोलीमा नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका विपिनप्रसाद शर्मासहित एसिया कपमा खेलेका युवराज खत्री छन्। यस्तै नरेन भट्ट, रोशन विश्वकर्मा, अभिषेक तिवारी, दयानन्द मण्डल पनि टोलीमा छन्। नरेनलाई कप्तान र अभिषेकलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
यू-१९ नेपाली टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुवँर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र।