नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
शनिबार रुपन्देहीको सिद्धार्थनगरको भएको फाइनल भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो।
आर्मीले दिएको १५५ रनको लक्ष्य पुलिसले ४ विकेटको क्षतिमा पूरा गर्यो।
पुलिसको जितमा कुशल भुर्तेलले ६१ रन बनाए। उनले ७० बलमा ७ चौका र ३ छक्क प्रहार गरे। अर्का ओपनर अमित श्रेष्ठ ३९ रन बनाए। दिलिप नाथले नटआउट ३१ रन बनाए।
गुल्सन झा ९ रन र शंकर राना १ रनमा पेभिलियन फर्किए। अर्जुन साउदले नटआउट ९ रन बनाए।
बलिङमा आर्मीका साहब आलमले ३ विकेट लिए। नरेन साउदले १ विकेट हात पारे।
त्यसअघि टस जितेको पुलिसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमै अलआउट भयो।
आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन जोडे। उनले १०४ बलमा ९ चौका र १ छक्का हिर्काए। कप्तान विनोद भण्डारीले २९ रन जोडे।
त्यसअघि ओपनरद्वय सन्तोष कार्की १ रन र त्रृतराज दास ७ रनमा आउट भए। इमरान शेख ५ रन, नरेन साउद ७ रन र भीम सार्की ० शून्यमा आउट भएपछि आर्मी दबाबमा परेको थियो।
बलिङमा पुलिसका करण केसी र सागर ढकालले ३-३ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। ललित राजवंशी र गुल्सन झाको नाममा १-१ विकेट रह्यो।