प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागिय टिमबचिको फाईनल प्रतिष्पर्धा शनिबार हुँदैछ।
साविक विजेता समेत रहेको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब उपाधि रक्षाका लागि भिड्ने छन्।
गत फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशका रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रङ्गशाला, तिलोत्तमाको एक्स्ट्राटेक ओभल र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता भएका थिए।
फाइनल प्रतिष्पर्धा भने सिद्धार्थ रङ्गशालामा बिहान ९ बजेदेखि हुँदै छ।
भैरहवामा आयोजित पत्रकार सम्मेलनमा दुबै टिमले फाईनल प्रतिष्पर्धाका लागि तयारी अवस्थामा रहेको जनाएका छन्। पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहेको बताए।
उनीहरुले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने भन्दै विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो भएकाले खेल प्रतिस्पर्धात्मक हुने बताए। यस्तै, क्रिकेट विकेन्द्रिकृत भएर विकास भएकोमा पनि कप्तानद्वयले खुशी व्यक्त गरे।
‘यसपटकका सबै खेलहरु काठमाडौं बाहिर भएका छन्, जसले गर्दा क्रिकेटमा नयाँ उत्साह थपिएको छ, आर्मीका कप्तान भण्डारीले भने। उनले नियमित काठमाडौंमा मात्र खेलिरहेको बेला बाहिरका मैदानमा खेल्दा केही फरक परेपनि सिद्धार्थ रङ्गशालाको पिच विगतको भन्दा राम्रो भएकोले सहज बनेको बताए।
पुलिसका कप्तान ऐरी पनि पिएम कपका सबै खेलहरु लुम्बिनी प्रदेशमा हुँदा यसक्षेत्रका क्रिकेटप्रेमी र नयाँ खेलाडीहरुमा पनि उत्साह थपिएको बताए। क्रिकेटको विकास र विकेन्द्रिकृत हुनु खेलाडीहरुका लागि खुसीको कुरा भएको भन्दै उपाधि रक्षाका लागि आफूले बनाएको रणनीति मैदानमा देखाउने बताए।
प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ भने आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ। गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो। आर्मी यसपटक त्यो बदला लिन चाहन्छ भने पुलिस लगातार जित निकाल्ने दाउमा छ।
प्रधानमन्त्री कपमा कुल ४६ खेलमध्ये ४५ खेल पुरा भएका छन्। जसमा दुबै टिमले ९ खेल खेल्दा ८ खेल जितेका छन्। फाइनलसम्म पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ।