त्रिभुवन आर्मी क्लबका देब्रे हाते स्पिनर साहब आलमले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सय विकेटको कोशेढुंगा पार गरेका छन्।
आलमले बिहीबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा नेपाल पुलिस क्लबविरूद्ध चार विकेट लिएसँगै प्रधानमन्त्री कपमा सय विकेट पूरा गरेका हुन्।
आलम प्रधानमन्त्री कपमा सय विकेट पूरा गर्ने दोस्रो बलर बने। यसअघि अघिल्लो खेलमा पुलिसका स्पिनर ललितनारायण राजवंशीले सय विकेट पूरा गरेका थिए।
आलमले सन् २०१७ देखि प्रधानमन्त्री कप खेल्दा ४९ खेलबाट १०३ विकेट लिइसकेका छन्।
जारी प्रतियोगिताको सर्वाधिक विकेट लिने बलरको दोस्रो स्थानमा रहेका आलमले ९ खेलबाट २८ विकेट लिइसकेका छन्।
आलमले ४ विकेट लिएपछि आजको निर्णायक खेलमा पुलिस ४१.४ ओभरमा १४८ रनमै अलआउट भयो।
टस जितेको आर्मीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन बनाउँदा आरिफ शेखले २२ रन जोडे।
अरु ब्याटर सस्तैमा आउट हुँदा पुलिस १५० रनभन्दा कम स्कोरमा समेटियो।
बलिङमा आर्मीका आलमले ४ विकेट लिँदा नरेन साउदको नाममा ३ विकेट रह्यो। कुशल मल्ल र भीम सार्कीले १-१ विकेट हात पारे।
प्रतियोगितामा पुलिस यसअघि नै फाइनलमा पुगेको थियो भने आर्मीले आजको खेलमा जिते फाइनलमा स्थान बनाउनेछ। कम अन्तरले पराजित भए पनि आर्मीको फाइनल सम्भावना बलियो छ। फराकिलो अन्तरले पराजित भए मात्र आर्मीलाई पछि पारेर एपिएफले पुलिससँग फाइनल खेल्नेछ।