प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संघारमा पुगेको छ। तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीबीच लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको छ।
पुलिसले फाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कर्णालीलाई ४४ रनले पराजित गर्यो।
पुलिसको जितमा स्पिनर ललितनारायण राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले ६ विकेट लिँदा १४८ रनको लक्ष्य पछ्याएको कर्णाली १०३ रनमै अलआउट भयो।
जारी प्रतियोगितामा ललितले आफ्नो विकेट संख्या ३६ पुर्याइसकेका छन्। सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा रहेका ललितले तीन खेलमा ५-५ विकेट र दुई खेलमा ६-६ विकेट लिएका छन्।
मंगलबार दाङको लमहीमा ६ विकेट लिएसँगै ललित प्रधानमन्त्री कपमा सय विकेट पूरा गर्ने पहिलो बलर बने। ललितले सन् २०१७ देखि प्रधानमन्त्री कपका ४२ खेल खेल्दा सय विकेटको कोशेढुंगा पार गरे।
प्रधानमन्त्री कपमा सय विकेट लिने पहिलो बलर बनेका ललितले सन् २०१७ को पहिलो सिजनदेखि अहिलेसम्म आठ संस्करण खेले। उनको विकेट संख्या १०३ पुगिसकेको छ।
त्रिभुवन आर्मी क्लबका साहब आलम पनि सय विकेट नजिक छन्। साहबको विकेट संख्या ९९ पुगिसकेको छ। ललितभन्दा पहिले सय विकेटको नजिक पुगेका साहबले यहि संस्करणमा सय विकेट पूरा गर्न सक्छन्। साहबले सिजनको अन्तिम लिग खेलमा ललितकै नेपाल पुलिसविरूद्ध खेल्दैछन्।
मंगलबार ललितसँगै सुदूरपश्चिमका स्पिनर शेर मल्लका लागि पनि विशेष बन्यो।
शेरले मधेस प्रदेशविरूद्धको खेलमा उत्कृष्ट बलिङ गर्न सफल भए। उनले १० ओभर बलिङ गर्दा ६ ओभर त मेडन नै फ्याँके। ५ रन मात्र खर्चिएका शेरले ४ विकेट लिन सफल भए। यो बलिङ फिगर प्रधानमन्त्री कपमा दश ओभरको स्पेलको सबैभन्दा राम्रो इकोनोमी हो। उनको इकोनोमी ०.५० रह्यो।
यसअघि १० ओभरको स्पेलमा उत्कृष्ट बलिङ गण्डकीका विपिन खत्रीको नाममा थियो। विपिनले गत वर्ष सुदूरपश्चिमविरूद्ध १० ओभरमा ४ मेडन राख्दा ९ रन खर्चिएका थिए भने ३ विकेट हात पारेका थिए। उनको इकोनोमी रेट ०.९० थियो।