प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिममाथि ४४ रनको जित निकाल्दै शीर्ष चारको सम्भावना जीवित राखेको छ।
मंगलबार रुपन्देहीको एक्स्ट्राटेक ओभरमा भएको खेलमा जित हात पारेको मधेसले अन्तिम खेलअघि ६ अंक जोडेको छ।
अब अन्तिम खेलमा बागमती र मधेसबीचको खेल शीर्ष चारको निर्णायक खेल हुने भएको छ। थेरै अन्तरले पराजित भएको अवस्थामा बागमती शीर्ष चारमै रहेन सम्भावना हुनेछ। किनकी बागमतीले ८ अंक जोडेको छ। त्यसैले मधेसले अन्तिम खेलमा राम्रो अन्तरको जित निकाल्न सफल भयो।
मंगलबार मधेसले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याए पनि सुदूरपश्चिम ५८ रनमै अलआउट भयो। सुदूरले पाँच ओभर सकिदा ५ विकेट गुमाएको थियो भने ५ रन मात्र जोड्न सकेको थियो। सुदूरपश्चिमविरुद्ध मधेशका रूपेश पटेलले उत्कृष्ट बलिङ गरे। उनले ६ विकेट लिने क्रममा २ मेडन राखे भने १८ रन खर्चिए।
प्रदीप पासवानले ३ विकेट लिए भने रूपेशले १ विकेट हात पारे। सुदूरका लागि हेमन्त धामीले सबैभन्दा बढी १९ रन जोडे भने अरु कोहि ब्याटरले पनि दोहोरो अंकमा रन बनाउन सफल भएनन्। जसमा सुरुवाती शीर्ष पाँचमध्ये चार ब्याटर शून्यमा आउट भए। सुदूरका कुल पाँच ब्याटरले खाता नै खोल्न सकेनन्।
त्यसअघि टस जितेको सुदूरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको मधेस ४२.३ ओभरमा १०२ रनमै अलआउट भयो।
मधेसका लागि दशौं नम्बरका ब्याटर प्रदीप पासवानले सबैभन्दा बढी नटआउट २३ रन बनाए।
बलिङमा सुदूरपश्चिमका शेर मल्लले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ४ विकेट लिए। त्यसका लागि उनले ६ मेडन फ्याँके भने ५ रन मात्र खर्चिए। प्रधानमन्त्री कपको यो सबैभन्दा इकोनोमी बलिङ स्पेल हो। शेरले ०.५० को इकोनोमीमा बलिङ गरे।
शेरले गण्डकीका विपिन खत्रीको रेकर्ड तोडेका हुन्। विपिनले गत वर्ष सुदूरपश्चिमविरूद्ध नै १० ओभरमा ४ मेडन राख्दा ९ रन खर्चिएका थिए भने ३ विकेट हात पारेका थिए। उनको इकोनोमी रेट ०.९० थियो।