युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।
नेपाल, हङकङ, युगान्डा र नामिबिया सहभागी प्रतियोगितामा नेपालले लिग चरणका छ मध्ये दुई खेलमा जति निकाल्दा चार खेलमा पराजित भयो।
चार खेलमा पराजित भएपछि नेपाल फाइनलमा पुग्न असफल भएको थियो। अब नेपालले तेस्रो स्थानको खेलमा हङकङसँगै नै खेल्नेछ।
नेपालले नामिबियाविरूद्धका दुवै खेलमा पराजय भोग्यो। युगान्डा र हङकङसँगका एक-एक खेलमा जित निकाल्दा एक एक खेल हार्यो।
युगान्डामा शुक्रबार हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि ओपनर सम्झनाकुमारी खड्काले ४३ बलमा ४७ रन बनाइन्। ओपनिङमा आएकी कप्तान इन्दू बर्माले ३२ बलमा १८ रन बनाइन्। पूजा महतोले २६ बलमा नटआउट २० रन जोडिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ८ विकेटको क्षतिमा १०४ रन जोड्यो। हङकङका लागि शानजीन शाहजादले अर्धशतक प्रहार गरिन्। उनले ४७ बलमा ५४ रन जोडिन्। चाङ यीनले १६ रन र यस्मिन दस्वानीले १४ रन बनाए।
बलिङमा नेपालकी राजमति ऐरीले ३ विकेट लिइन्। उनले चार ओभरमा १७ रन खर्चिइन्। कप्तान इन्दू बर्माले २ विकेट लिन सफल भइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १२ रन मात्र दिइन्।