भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले आइपिएल २०२५ को सुरुवाती खेलहरू गुमाउने भएका छन्।
गत जनावरीदेखि ढाँडको समस्याले पीडित बुमराहको चोट अझै पूर्ण ठिक नहुँदा मुम्बई इन्डियन्सका लागि आइपिएल २०२५ का सुरुवाती केही खेल गुमाउने निश्चित भएको हो।
बुमराहले आगामी अप्रिलको सुरूमा मात्र मुम्बईको टोलीमा सामेल हुने अपेक्षा गरिएको छ। त्यसअघि मुम्बईले मार्चमा तीन वटा आइपिएलको खेल खेल्ने तय छ।
उनले खेल्नका लागि बेंगलुरुमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको मेडिकल टोलीबाट अनुमति प्राप्त गर्नुपर्नेछ।
बुमराह गत जनवरी ४ मा सिड्नीमा भएको टेस्टको दोस्रो दिनको खेलमा चोटग्रस्त भएका थिए। त्यसयता ढाँडको समस्याबाट मैदानमा फर्कन संघर्षरत बुमराहले भारतले जितेको च्याम्पियन्स ट्रफी गुमाएका थिए।
मार्च २०२३ मा शल्यक्रिया गरेपछि बुमराह ढाँडको चोटबाट पीडित भएको यो पहिलो पटक हो।
मुम्बईले मार्च २३ मा चेन्नई सुपर किंग्सविरुद्ध चेन्नईमा आफ्नो पहिलो खेल खेल्नेछ। उसले मार्च २९ मा अहमदाबादमा गुजरात टाइटन्ससँग खेल्नेछ।
मार्च ३१ मा कोलकाता नाइट राइडर्ससँग मुम्बईले घरेलु मैदानमा खेल्नेछ। यस्तै अप्रिल ४ मा लखनऊ सुपर जायन्ट्सविरूद्ध लखनऊमा र अप्रिल ७ मा घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध खेल्नेछ।
मे २५ मा आइपिएल सकिएको एक महिनापछि भारतले पाँच टेस्टको सिरिज खेल्न इङ्गल्याण्डको यात्रा गर्ने तालिका छ।