प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत दुई विभागीय टोलीको भिडन्तमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २ विकेटले हराएको छ।
यससँगै पुलिसले लगातार तीन खेलमा जित निकाल्यो। अघिल्ला दुई खेलमा विजयी भएको एपिएफ तेस्रो खेलमा भने पराजित भयो।
दाङको लमहीमा एपिएफले दिएको ९५ रनको लक्ष्य भेट्टाउन पुलिसलाई सहज भने भएन। पुलिसले ८ विकेटको क्षतिमा २६.२ ओभरमा लक्ष्य पूरा गर्यो।
पुलिसका लागि कुशल भुर्तेलले सबैभन्दा बढी ३१ रन बनाए। अर्जुन साउद ११ रन, गुल्सन झाले नटआउट १२ रन र रशिद खानले १० रन बनाए। पुलिसका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा एपिएफका भुवन कार्कीले ३ विकेट लिए भने अभिषेक गौतम र रोहित पौडेलले २-२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ २७.४ ओभरमा ९४ रनमै अलआउट भयो।
लगातार विकेट गुमाएको एपिएफका लागि ओपनर लोकेश बमले २२ रन र सन्दीप जोराले २६ रन बनाए। अरु ब्याटर सस्तैमा आउट भए। एपिएफका सात ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा पुलिसका ललितनारायण राजवंशीले ६ विकेट लिए। प्लेयर अफ दि म्याच ललितले ७.४ ओभरमा ३ मेडन राख्दा १८ रन मात्र खर्चिए।
सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १-१ विकेट लिए।