युगान्डमा सञ्चालन भइरहेको वुमन्स डे टी-२० क्रिकेट प्रतियोगितामा नेपालले तेस्रो खेलमा पराजय भोगेको छ।
नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगितामा नेपालले यसअघि नामिबिया र हङकङसँग पराजय भोगेको थियो। आयोजक युगान्डालाई भने नेपालले एक विकेटले हराएको थियो।
बुधबार नामिबियासँगको आफ्नो दोस्रो खेलमा पनि नेपाल २३ रनले पराजित भयो।
नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन सक्यो।
नेपालका लागि सना प्रवीनले ३१ रन, कविता जोशीले १७ रन र पूजा महतोले १५ रन बनाए। बलिङमा नामिबियाकी इलावेन केजारुकुवाले २ विकेट लिइन्।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनायो।
नामिबियाका लागि यस्मिन खानले ४५ रन बनाइन्। विल्का एमवाटाइनले २० रन र ओपनर सुनी विटम्यानले १५ रन जोडिन्।
बलिङमा नेपालकी इश्वरी विष्टले ३ विकेट लिइन्। रचना चौधरीले २ विकेट हात पार्दा इन्दू बर्मा र रिया शर्माले १-१ विकेट हात पारे।
दुई अंक जोडेको नेपाल आजको खेलमा पराजित भएसँगै अंक तालिकाको चौथो स्थानमा झरेको छ।
अब नेपालले आयोजक युगान्डा र हङकङसँग खेल्न बाँकी छ। डबल राउन्ड रोबिनमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने पुछारका दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।