प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ।
सोमबार सुदूरपश्चिचमसँग पराजित भएको गण्डकीले मंगलबार भएको खेलमा कर्णाली प्रदेशमाथि ४ विकेटको जित हात पार्यो। कर्णालीले यसअघि पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो।
दाङको लमहीमा टस जितेको गण्डकीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रनमै अलआउट भयो।
कर्णालीका लागि विपिन शाहीले सबभन्दा बढी २० रन बनाए। कर्णालीका सात ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले २-२ विकेट लिए।
९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
गण्डकीको जितमा प्लेयर अफ दि म्याचर दीपक डुम्रेले नटआउट ५० रन बनाए। उनले ७८ बलमा ७ चौका प्रहार गरे। सुजन गौतमले नटआउट २२ रन जोड्दा अरु ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा कर्णालीका दिवान पुनले ३ विकेट लिए भने दीपेन्द्र रावतले २ विकेट हात पारे।