प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
रुपन्देहीको एक्स्ट्राटेक ओभलमा सोमबार भएको खेलमा पुलिसले घरेलु टोली लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेटको क्षतिमा २४९ रन जोड्यो। पुलिसका लगि ओपनिङ ब्याटर कुशल भुर्तेलले ५९ रन र आरिफ शेखले ५६ रन बनाए।
दिलीप नाथले ३४ रन र गुल्सन झाले नटआउट ३६ रन बनाए।
बलिङमा लुम्बिनीका कृष्ण कार्की र अजय चौहानले ३-३ विकेट लिए।
२५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेटको क्षतिमा १६२ रन जोड्न सक्यो। लुम्बिनीका लागि प्रज्वल थापाले ७२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। अरु ब्याटर भने चल्न सकेनन्।
बलिङमा पुलिसका सागर ढकालले ३ विकेट लिन सफल भए। ललित राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरी २-२ विकेट हासिल गरे।