नेपाली क्रिकेटको एकदिवसीय फर्म्याटको राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप आइतबारदेखि लुम्बिनी प्रदेशमा सुरू भएका छन्।
लुम्बिनी प्रदेशका तीन मैदानमा सुरू भएको प्रतियोगिताको पहिलो दिन पहिले ब्याटिङ गरेका तीनै टोलीले जित निकालेका छन्। तीनै खेलमा कुनै पनि टोलीले ५० ओभर ब्याटिङ गर्न भने सकेनन्।
दाङको लमहीमा भएको खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ७९ रनको जित निकालेको छ। घरेलु क्रिकेटमा बलियो मानिएको सुदूरपश्चिममाथि यसअघि कमजोर प्रदर्शन गर्दै आएको कर्णालीले पहिलो खेलमा नै उत्कृष्ट जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भएको थियो। उसका लागि अर्जुन घर्तीले जोडेको ७१ रन महत्वपूर्ण सावित भयो। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए।
१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि खडक बोहाराले सर्वाधिक २७ रन बनाए। बलिङमा कर्णालीका दीपेन्द्र रावतले सात विकेट लिए। प्लेयर अफ दि म्याच रावतले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन दिए।
यता रुपेन्द्रहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बागमती प्रदेशलाई १०० रनले हरायो। बागमतीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफ ४४ ओभरमा १७४ रनमा अलआउट भयो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। बलिङमा बागमतीका रिजन ढकालले ५ विकेट लिए भने नन्दन यादवले ३ विकेट लिन सफल भए।
१७५ रनको लक्ष्य पछ्याएको बामगती २८.२ ओभरमा ७४ रनमा अलआउट भयो। बामगतीका लागि शुभ कंसाकारले सबैभन्दा बढी १६ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा एपिएफका कलमसिंह ऐरीले ४ विकेट लिए। प्लेयर अफ दि म्याच ऐरीले ८.२ ओभरमा २ मेडन राख्दा २७ रन बनाए। कप्तान रोहित पौडेल र अमरसिंह रटेउलाले २-२ विकेट हात पारे।
भैरहवामा भएको खेलमा घरेलु टोली लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन र ओपनर मृनाल गुरुङले ४४ रन बनाए। नर सार्कीले ३२ बलमा ४५ रनको योगदान दिए।
२०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.२ ओभरमा १८२ रनमा अलआउट भयो। कोशीका लागि सुजन थपलियाले ३५ रन र ओपनर चिराग साहले ३१ रन बनाए।
बलिङमा लुम्बिनीका अजय चौहानले ५ विकेट लिए। प्लेयर अफ दि म्याच चौहानले ८.४ ओभरमा ३२ रन दिए। लुम्बिनीका लागि रमेश कुर्मीले लिएको ३ विकेट जितको आधार बन्यो।