नेपाली महिला क्रिकेटर पूजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट स्टेडियमका लागि ब्राण्ड एम्बेसडर नियुक्त भएका छन्।
एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले पूजा र कवितासँग ब्राण्ड एम्बेसडरका लागि सम्झौता गरेका हुन्।
कुँवरले नेपालमा महिला क्रिकेट फस्टाउँदै गरेको अवस्थामा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले पूजा र कवितालाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए।
उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमित रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाँजोमा पुग्न सक्ने पनि बताए।
‘खेलाडीले खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्छ, यस्तै सानो सानो योगदानले नेपाली महिला खेलाडीलाई पनि खेलमा केन्द्रीत गर्ने अवस्था बनाउनु जरुरी छ,’ उनले भने।
कुँवरले ब्राण्ड एम्बेसडरको सम्झौतालाई निरन्तरता दिँदै आगामी दिनमा अरु खेलाडीलाई समेट्ने बताए। एक्स्ट्राटेक ओवलले पूर्व क्रिकेटर तथा नेपाली पुरुष यु–१९ का प्रशिक्षक शक्ति गौचनलाई यसअघि नै ब्राण्ड एम्बेसडर नियुक्त गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर पूजा र कविता एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर बनेको बताए। उनले नीजि लगानीमा निर्माणाधिन एक्स्ट्राटेक क्रिकेट स्टेडियमले नेपाली क्रिकेटमा उत्साह थपेको बताए।
‘नीजि क्षेत्रबाट नेपाली क्रिकेटका लागि गरिएको यो लगानी र योगदानले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने छ,’ उनले भने।
पूजाले एक्स्ट्राटेकको ब्राण्ड एम्बेसडर नियुक्तिले खेलमै केन्द्रीत हुन आफुलाई हौसल थपेको बताइन्।
‘यु–१९ को टोली छनोटका लागि यहि मैदानमा गरिएको क्लोज क्याम्प मेरो खेल जीवनको अविश्मरणीय क्षण थियो, अहिले यसैको ब्राण्ड एम्बेसडर नियुक्तिले देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिलेको छ,’ उनले भनिन्।