इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरिएको छ।
गएराति लाहोरको गद्दाफी स्टेडियममा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड अन्तिम खेलअगावै समूह चरणबाट बाहिरिएको हो।
यसअघि पहिलो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो। त्यतिबेला ३५२ रन जोडेपनि इंग्ल्याण्ड पराजित हुन पुगेको थियो।
गएराति अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड एक बल बाँकी छँदा सबै विकेट गुमाएर ३१७ रनमा समेटिएको थियो।
इंग्ल्याण्डका लागि जोय रूटले १२० रन बनाएका थिए। उनले १११ बल खेलेर ११ चौका र १ छक्का हाने।
बेन डकेट र कप्ता जोश बट्लरले ३८/३८ रन बनाएका थिए। जेमी ओभरटले ३२ र ह्यारी ब्रुकले २४ रन जोडे।
बलिङतर्फ अजअनउल्लाह ओमरजईले ५ विकेट लिए। मोहम्मद नाबीले २ तथा फजलहक फारूकी, रसिद खान र गुलबदिन नइबले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो।
त्यस क्रममा ओपनर इब्राहिम जद्रानले १७७ रन बनाए। उनले १४६ बलमा १२ चौका र ६ छक्का हाने।
अजमतउल्लाह ओमरजईले ४१ तथा कप्तान हशमतउल्लाह शाहिदी र मोहम्मद नाबीले ४०/४० रन जोडेका थिए।
इंग्ल्याण्डले अब अन्तिम खेल दक्षिण अफ्रिकासँग र अफगानिस्तानले अस्ट्रेलियासँग खेल्नेछ। दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा र अस्ट्रेलिया दोस्रो स्थानमा छ। दुवैको तीन/तीन अंक छ। अफगानिस्तान २ अंकसहित तेस्रो स्थानमा छ।