च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध फराकिलो जित निकालेको छ।
गएराति कराँचीको नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनको फराकिलो अन्तरले हराएको हो।
दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा अल आउट हुँदै २०८ रनमा समेटिएको हो।
अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २/२ तथा मार्को जनसेन र केशव महाराजले १/१ विकेट लिए।
अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ९० रन बनाए। उनले ९२ बलमा ९ चौका र १ छक्का हाने।
रसिद खान र अजमतउल्लाह ओमरजइले १८/१८, इब्राहिम जद्रानले १७ र सेदिकउल्लाह अटलले १६ रन बनाए। कप्तान हसमतउल्लाह शून्यमै आउट भएका थिए।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३१५ रन बनाएको थियो।
ओपनर र्यान रिकेल्टनले शतक हाने। उनले १०६ बलमा ७ चौका र १ छक्का हानेर १०३ रन बनाए।
त्यस्तै अरू तीन जना ब्याटरले अर्धशतक हाने।
कप्तान तेम्बा बावुमाले ७६ बलमा ५ चौका हानेर ५८ रन बनाए।
रसी भ्यान देर दुसेनले ४६ बलमा ३ चौका र २ छक्का हानेर ५२ रन बनाए।
एडेन मार्क्रम ३६ बलमा ६ चौका र १ छक्का हानेर ५२ रन बनाउँदै नट आउट रहे।
डेविड मिलरले १४ र ओपनर टोनी दे जोर्जीले ११ रन बनाउँदा १२ रन बनएर विआन मुलदर नट आउट रहे। मार्को जनशेन शून्यमा आउट भएका थिए।
बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले २ तथा फजलहक फारूकी, अजमतउल्लाह ओमरजइ र नूर अहमदले १/१ विकेट लिए।
च्याम्पियन्स ट्रफीमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया खेल्दैछन्।