आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै भारतले समूह ‘ए’ मा उत्कृष्ट सुरूवात गरेको हो।
यसअघि यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको थियो। ट्रफीमा भारतको खेल युएई र अरु देशका खेल पाकिस्ताना भइरहेका छन्।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा ४६.३ ओभरमा पूरा गर्यो।
भारतको जितमा शुभमन गिलले शतक प्रहार गरे। उनले १२९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै नटआउट १०१ बनाए। केएल राहुलले पनि नटआउट ४१ रन जोडे पनि भारतले सजिलै लक्ष्य भेट्टायो। राहुलले ४७ बलमा १ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि ओपनर तथा कप्तान रोहित शर्मा ४१ रनमा आउट भए। विराट कोहली २२ रन, श्रेयस अय्यर १५ रन र अक्षर पटेल ८ रनमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश दुई बल खेल्न बाँकी छदा २२८ रनमा अलआउट भयो।
कठिन परिस्थितिमा बंगलादेशको इनिङ सम्हालेका तोहिद हृदोयले शतक प्रहार गरे।
पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी ४९.२ ओभरमा १०० रनमा अन्तिम विकेटको रुपमा आउट भए। कुनै समय ३५ रन बनाउँदा ५ विकेट गुमाएको बंगलादेशका लागि हृदोयसँगै जकर अलीले ६८ रन जोड्दा टोली संकटबाट बाहिर निस्कन सफल भयो। दुईबीच छैटौं विकेटका लागि १४४ रनको साझेदारी भयो।
बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए भने हर्षित रानाले ३ विकेट हात पार्न सफल भए। अक्षर पटेलले २ विकेट आफ्नो नाममा लेखाए।