तेश्रो संस्करणको कैलाली प्रिमियर लिग आजदेखि सुरु भएको छ। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिमले विजयी सुरुवात गरेको छ। दोस्रो खेलमा दिपक बोहराले शतकमा पुर्नवासले जित निकाल्यो।
शुक्लाफाँटा नगरपालिकाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य गोदावरी नगरपालिकाले १९ ओभरमा ५ विकेट गुमाउँदै भेटायो। गोदावरी नगरपालिकाका लागि निश्चल केसी र हृदय बिठारीले ६१ रनको उत्कृष्ट अर्धशतकीय साझेदारी गरे।
गोदावरी नगरपालिकाका लागि ओपनर ब्याटर गजेन्द्र बोहराले सर्वाधिक ३९ रन प्रहार गरे । बोहरा म्यान आफ दी म्याच समेत चुनिदै नगद दुई हजार पाँच सय प्राप्त गरे।
निश्चल केसीले ३७ तथा हृदय बिठारीले ३५ रनको अविजित पारी खेले । शुक्लाफाँटा नगरपालिकाका लागि कैलाश ऐरले २ तथा अशोक धामीले १ विकेट लिए ।
त्यसअघि शुक्लाफाँटा नगरपालिकाका कप्तान ललित सिंह भण्डारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए। निर्धारित २० ओभरमा शुक्लाफाँटा नगरपालिकाले ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।
शुक्लाफाँटाका लागि निराजन गौतमले सर्वाधिक २६ रन बनाए । सुरज तिरुवा १६, लोकेश जोशी र कृष्ण भट्टले समान १५ रन, कैलाश ऐरले अविजित १३ तथा अशोक धामीले १० रनको योगदान दिए । गोदावरी नगरपालिकाका लागि खडक बोहरा र आयुश द्वारियाले समान दुई दुई विकेट र प्रकाश राज जोशी, शुशिल रावल र शुशिल रावलले समान एक एक विकेट लिए ।
दिपक बोहराले शतक
दोस्रो खेलमा पुनर्वास नगरपालिका बी ले घोडाघोडी नगरपालिकालाई १०९ रनले पराजित गर्दै प्रतियोगितमा उत्कृष्ट सुरुवात गरेको छ । पुनर्वास नगरपालिका बी ले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याउने क्रममा घोडाघोडी नगरपालिकाले निर्धारित १६ ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो ।
घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिष्टले सर्वाधिक १९ रन बनाए । त्यसैगरी सुंधाशु रावल अविजित १४ रन, विशाल बिष्ट १२ र जिवन थलालले १० रनको योगदान दिए । पुनर्वास नगरपालिका बी का लागि बसन्त सिंह कार्की, बिक्रम ठगुन्ना, सागर भण्डारी र सचिन भट्टले समान एक एक विकेट लिए । त्यसअघि फाप्लामा टस जितेर पहिला ब्याटिङ रोजेको पुनर्वास नगरपालिका बीले निर्धारित १६ ओभरको खेलमा २ विकेटको क्षतिमा १८६ रन बनायो ।
पुनर्वास नगरपालिका बी का लागि ओपनर ब्याटर दिपक बोहराले शतक हिर्काए । ५२ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतले अविजित १०० रन बनाए । त्यस्तै टेक रावतले अर्धशतक हिर्काए । उनले ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए । पुनर्वास नगरपालिका बी का लागि अभिषेक पालले २ तथा कप्तान बिपिन रावलले ७ रन बनाए । घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिष्ट र चेतराज भण्डारीले समान एक एक विकेट लिए । खेलमा शतक हिर्काएका दिपक बोहरा म्यान अफ दी म्याच चुनिए।
फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश भरीका १२ ओटा स्थानीय तहका टिमले सहभागीता जनाएका छन् । प्रतियोगीताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले रहेको छ । धनगढीको फाप्ला खेल मैदानमा आयोजना भईरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका, पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका, समूह बी मा घोडाघोडी नगरपालिका, जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी, समूह सी मा त्रिवेणी गाउँपालिका, वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका, लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद २ लाख, उपविजेता टोलीले नगद एक लाख प्रप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, बेष्ट बलर र ब्याटरले जनही १५÷१५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सय प्राप्त गर्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघले जनाएको छ ।