नेपाल क्रिकेट संघ (क्यान) को एकदिवसीय फर्म्याटको मुख्य प्रतियोगिता प्रधानमन्त्री कप फागुन २५ गते सुरू गर्ने खेल तालिका छ।
त्यसका लागि क्यानले यसअघि जिल्लाहरूलाई छनोट गर्न पत्राचार गरेको थियो। कम्तिमा चार क्लबको प्रतियोगिता आयोजना गरेर खेलाडी छनोट गर्न क्यानले निर्देशन दिए पनि त्यसको विपरित कतिपय जिल्लाले खेलाडीहरू भेला पारेर छुट्टै टोली खडा छनोट गरेका छन्।
कतिपयले जिल्लाले त फ्रेञ्चाइज तरिकाले जिल्ला छनोट गरेका छन्। यसले जिल्लाका क्लबको अस्तित्व सकिने र खेलाडी छनोटमा विभेद हुने भन्दै क्यानका पदाधिकारीले चिन्ता व्यक्त गर्ने गरेका छन्।
जिल्ला छनोटपछि अब प्रदेश छनोट सुरु हुनेछ। प्रदेश छनोट सकिएपछि सात प्रदेशले प्रधानमन्त्री कपका लागि टोली घोषणा गरेका गर्नेछन्। यस्तै तीन विभागले पनि प्रधानमन्त्री कपका लागि तयारी गरिरहेका छन्।
सात प्रदेश र तीन विभागीय टोलीहरू आर्मी, पुलिस र एपिएफ गरी दश टोलीबीच प्रतिस्पर्धा हुने प्रधानमन्त्री कपका यसपटकका सबै खेल लुम्बिनी प्रदेशका तीन मैदानमा आयोजना गर्ने गरी तयारी गरिएको छ।
जसमा दाङको एक मैदान र रुपन्देहीका दुई मैदानमा खेल सञ्चालन हुनेछन्। दाङको देउखुरी अन्तर्राष्ट्रिय मैदानमा प्रतियोगिताका धेरै खेल सञ्चालन गर्ने क्यानको तयारी छ।
यस्तै रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्रा टेक ओभलमा पनि खेल सञ्चालन हुनेछन्।
प्रधानमन्त्री कपको अघिल्लो संस्करण सिद्धार्थ रंगशालासहित मुलपानी र कीर्तिपुर मैदानमा भएका थिए। यसपटक भने सबै खेल काठमाडौं बाहिर आयोजना गर्न लागिएको हो।
राउन्ड रोबिन लिगको आधारमा हुने प्रधानमन्त्री कप जय ट्रफी बहुदिवसीय क्रिकेट प्रतियोगिताको छनोटको आधार समेत हो। अघिल्लो संस्करणको शीर्ष चार टोलीले यो वर्षको जय ट्रफीमा प्रतिस्पर्धा गरेका थिए।