आगामी मार्च २१ देखि सुरु हुने आइपिएल २०२५ को लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान नियुक्त गरिएको छ।
२०२२ देखि २०२४ सम्मका कप्तान फाप डु प्लेसिसलाई बेंगलुरुले रिटेन नगरेपछि विराट कोहलीले टोलीको फेरि नेतृत्व गर्ने अपेक्षा गरिएको थियो। तर बेंगलुरुले पाटीदारलाई कप्तानको रुपमा अघि सारेको हो।
बिहीबार बेंगलुरुमा टोली निर्देशक मो बोबाट, मुख्य प्रशिक्षक एन्डी फ्लावर र पाटीदारको उपस्थितिमा आयोजित एक कार्यक्रममा कप्तान घोषणा गरिएको हो।
पाटीदार टोलीका लागि आठौं कप्तान हुन्। २०२१ मा टोलीमा आबद्ध भएपछि उनले तीन सिजन खेलिसकेका छन्।
उ२८ खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७९९ रन बनाउँदै उनी टोलीको प्रमुख ब्याट्सम्यानमध्ये एक बनेका छन्।
‘रजतमा शान्त स्वभाव छ र त्यसले रजतलाई राम्रो स्थानमा राख्नेछ, विशेषगरी आइपिएलमा,’ प्रशिक्षक फ्लावरले भने ‘उनी स्वाभाविक रूपमा शान्त मान्छे हुन्, उनी ड्रेसिङ रुममा वरपरका मानिसहरूको ख्याल राख्छन्। कप्तानको रूपमा यो गुण महत्त्वपूर्ण छ।’