धनगढीको फाप्ला क्रिक्रेट मैदानमा शनिवारदेखि सुरू भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको पहिलो दिन दर्शकको उपस्थिती बाक्लो देखियो।
गो ड्रिर्मसको आयोजनामा यो प्रतियोगिता सञ्चालनमा आएको हो। आयोजकका अनुसार पहिलो दिन टिकट काटेर बनाइएका अस्थायी प्यारापिटमा बसेर एक हजार भन्दा बढी दर्शकले खेल हेरे।
खेल हेर्नका लागि दर्शकलाई आयोजकले एक सयदेखि दुई सयका दरले टिकटको शुल्क तोकेको छ। जसमा पहिलो दिन एक सय र दुई सयका दरले उद्धघाटन खेलमा अढाई लाख रूपैयाँभन्दा बढीको टिकट बिक्री भएको आयोजकको भनाइ छ।
टिकट नकाटेर पनि मैदानबाहिरबाट हेर्ने दर्शकको बाक्लो भिड थियो। रूख, सडक, घेरवारबाट पनि खेल हेर्ने दर्शकको पनि घुइँचो देखियो।
देशभरका चर्चित तथा अनुभवी राष्ट्रिय खेलाडी यस प्रतियोगितामा विभिन्न टिमको प्रतिनिधित्व गर्दै खेलिरहेका छन्। खेलका लागि फाप्लाको मुहार एकपटक फेरि सिँगारिएको छ।
क्रिकेट समर्थकहरू फाप्लामा फेरि क्रिकेट फर्केको बताउँछन्। विविध कारणले खेल गतिविधिमा केही कमी आएका बेला यो राष्ट्रियस्तरको यो प्रतियोगिताले नयाँ माहोल बनाएको दर्शकहरूको भनाइ छ। यस्ले यहाँका क्रिकेटप्रेमीहरूलाई उत्साहित बनाएको छ।
कञ्चनपुरको दजैबाट क्रिक्रेट हेर्न धनगढी पुगेका मोहनबहादुर बोहराले यो प्रतियोगिताका खेल हेर्न पाउँदा एकदम उत्साह भएको बताए।
‘पर्दामा देखेका खेलाडीलाई आँखाले देख्न पाउँदा खुसी लागेको छ, धनगढीमा खेल मैदान हुनुपर्ने आवश्यकता यो माहोलले प्रस्ट देखाएको छ, यस्तै माहोल बने, यहाँ मैदान पनि बन्थ्यो की,’ उनले भने।
खेल हेर्न उत्साहित भएर गएका धनगढीका सुमित्रा भण्डारीले धनगढीमा यो किसिमको प्रतियोगिताले राम्रो सुरूवात देखाएको बताइन्।
‘यो त, सुरूवात हो, टियु भन्दा राम्रो मैदान बन्नुपर्छ धनगढीमा। धनगढी क्रिक्रेट सिटी हो, क्रिक्रेट लभर छन् यहाँ,’ उनले भनिन्।
फाप्लामा यसपछि क्रिकेटका गतिविधि तथा प्रतियोगिता भइरहनुपर्ने उनको धारणा छ।
अन्तर्राष्ट्रिय मैदानको परिकल्पना गर्दै थालिएको ड्रिम फाप्ला अभियानका संयोजक तथा अर्जुन ट्रफी प्रतियोगिताको बोर्डका अध्यक्ष सुभास शाहीले पनि फाप्लामा राष्ट्रियस्तरको प्रतियोगिताको आयोजना हुनु खुसीको कुरा भएको बताए।
उनले आयोजना गरेका एसपीए कपदेखि, डिसीए, डिपीएलको यात्रामा सर्मथहरूको राम्रो साथ पाएको बताए।
धनगढीलाई क्रिक्रेट सिटीको रूपमा पहिचान बनाउने यात्रामा थपिएको अर्जुन ट्रफीले एक नयाँ दिशा दिने उनले बताए।
‘फाप्ला अन्तर्राष्ट्रिय मैदान तथा खेलग्राम बन्ने क्रममा छ, त्यो यात्रामा जोडिने सबै खेलप्रेमी, सर्मथक, सहयोगी हात, तीनै तहका सरकारको साथ पाउने अपेक्षा छ, हाम्रो चाहाना अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा फाप्ला आयोजना भएको हेर्ने हो, त्यसैको अभियानमा हामी विगतदेखि अहिलेसम्म लागिरहेका छौँ,’ उनले भने।
यस प्रतियोगितामा धनगढी लगायत सुदूरपश्चिमभरि १० दिन आर्थिक गतिविधि, आर्थिक क्रियाकलाप बढ्ने र पर्यटकहरूको पनि चहलपहल हुने उनले बताए।
घरेलु क्रिकेटमा सुदूरपश्चिम बलियो टोली मानिन्छ।
गाउँ, जिल्ला र क्षेत्र हुँदै क्रिकेटको माध्यमबाट देश चिनाएका खेलाडी सुदूरपश्चिममा थुप्रै छन्। प्रदेशमा घरेलु क्रिकेटको संरचना पनि मजबुत छ।
फाप्लामा साना–तिना प्रतियोगिता भइरहेकै हुन्छन्। भर्खरै यहाँ राष्ट्रियस्तरको प्रधानमन्त्री महिला राष्ट्रिय प्रतियोगिता पनि सञ्चालन भएको थियो। तर, २०१९ पछि फाप्लामा राष्ट्रिय पुरूष क्रिक्रेट प्रतियोगिता फर्किएपछि दर्शक त उत्साहित हुनेनै भए। खेलाडीहरू पनि उत्साहित देखिए।
सुदूरपश्चिम खेलाडी उत्पादनका लागि उर्बर भूमी भएको नेपाली राष्ट्रिय टिमका अलराउण्डर खेलाडी कुशल भुर्तेलले बताए। उनले यहाँ खेल्न आउँदा पाउने दर्शकको साथ र सपोर्ट क्रिक्रेटमा निकै राम्रो भएको बताए।
‘पछिल्लोपटक ५/६ वर्षअघि यहाँ धनगढी प्रिमियर लिग खेलेको थिएँ, यहाँ जहिल्यै पनि आउँदा धेरै खुसी लाग्छ। सर्मथकहरूको राम्रो साथ पाइन्छ, क्रिक्रेटका सर्मथक देख्दा क्रिकेट माथि उक्लिएको महशुस हुन्छ, सुदूरपश्चिमले धेरै खेलाडी उत्पादन गरेको छ, आगामी दिनपनि यहाँको माहोल यस्तै भएको देखियोस्, धेरै सर्मथकको यस्तै साथ पाइरहुँ जस्तो लेख्छ,’ उनले भने।
मैदानको अवस्था भने पहिलेकै जस्तो पाइएको उनको भनाइ छ।
प्रतियोगिता अवधिभरि नयाँ खेलाडीलाई सिकाउने र उनीहरूलाई उत्प्रेरणा गर्ने उनको भनाइ छ।
यस्तै नेपाली राष्ट्रीय क्रिक्रेट टिममा लामो समयदेखी खेलीरहेका विनोद भण्डारीले केहि सयमको ग्यापपछि धनगढीमा खेल्न पाउँदा एकदम उत्साहित भएको बताए।
‘यहाँ खासै गेम भइरहेको छैन, यसपटक मैदानमा पिच चेन्च भएको छ। यसले यहाँको क्रिक्रेट माहोलालई अझै अगाडी बढाउँछु, अझै राम्रो गर्नुपर्छ। काठमाण्डौमा खेल्दा त सुदूरपश्चिमका दर्शकले छोड्दैन भनेपछि यहाँ त झन् बढी साथ पाइन्छ,’उनले भने।
यो त भयो ठूलो राष्ट्रियस्तरको क्रिक्रेट प्रतियोगिता अरू साना –ठुला प्रतियोगिता पनि यहाँ बेला–बेला भएकै छन्। महिनामा एक/दुई प्रतियोगिता प्रायः यहाँ भइरहेका हुन्छन्।
सुदूरपश्चिममा क्रिक्रेटको माहोल देखिएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई लाग्छ की एनपीएलको अर्का संस्करण धनगढीमा गर्न सम्भव छ।
तर, यहाँ उच्चस्तरीय मैदानको अभावमा खेलाडीले खोलाको बगर, खेतका गह्रा, विद्यालयका प्राङ्गण र मन्दिरका आँगनमा तयारी गर्नुपर्ने बाध्यता छ।
मैदान अभावले खेलाडीको तयारीमा देखिएको समस्या र प्रतियोगिता सञ्चालनमा भइरहेका अप्ठ्यारालाई फाप्लाले समाधान गर्ने सपना अधुरै छ। गौचरनबाट क्रिकेट मैदान बनेको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान कहिले बन्ला भन्ने चासोको विषय बनेको छ।
यही किसिमका प्रतियोगिता यहाँ भइराखे मैदान बन्ने थियो की भन्ने यहाँका खेलीप्रेमीहरू बताउँछन्। ११ वर्षअघि फाप्ला साधारण गौचरनमात्रै थियो।
अहिले मैदान भएको एकातिर अग्लो डाँडा थियो। मैदान बनाउन त्यसलाई सम्याउनुपर्थ्यो। घाँस पनि उमार्नुपर्ने थियो। यहाँ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सजिलो थिएन।
स्थानीयको सहयोग पनि त्यतिकै महत्वपूर्ण थियो। फाप्लासम्म बिजुली पनि पुगिसकेको थिएन। त्यहाँसम्मको सडक त अझै ग्राभेल पनि गरिएको थिएन।
यस्ता यावत समस्या भएको फाप्लामा २०७१ सालमा नेपाल प्रिमियर लिग (एनपिएल)का खेल आयोजना गर्ने योजना बन्यो।
एनपिएल धनगढीमा आयोजना गर्ने भए पनि आयोजकले पहिलो शर्त नै मैदान उपलब्ध गराउनुपर्ने राखेको थियो। तर त्यो स्तरको कुनै मैदान नहुँदा निजी क्षेत्रले फाप्लालाई मैदानको रूपमा तयार पार्न ठूलो सहयोग गर्यो।
त्यो वर्ष एनपिएलका दुई दिने फर्म्याटका प्रतियोगिता भएपछि फाप्ला देशभर नै चर्चित बन्यो। त्यसपछि यो मैदान सरकारको नजरमा पनि पर्यो।
संघीय सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा यस मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा पनि गर्यो।
सरकारले फाप्ला क्रिक्रेट मैदानलाई अन्तराष्ट्रियस्तरको मैदान बनाउने घोषणा गरेको ९ वर्ष बित्यो । घोषणाअनुसार काम भने भएको छैन। फाप्लामा अन्तर्राष्ट्रिय क्रिक्रेट बनेको हेर्ने चाहाना सबैको छ तर कहिले पूरा हुन्छ भन्ने आसामा यहाँका नागरिक छन्।