महिला यू-१९ एसिया कप क्रिकेटको सुपर फोरमा आज नेपालले श्रीलंकासँग खेल्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ११:४५ बजे नेपाल र श्रीलंकाबीचको खेल हुनेछ।
नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा पुगेको थियो। नेपाल र भारतबीचको खेल रद्द हुँदा नेपाल समूह ए को उपविजेता हुँदै सुपर फोरमा पुगेको हो।
श्रीलंका पनि समूह 'बी' को उपविजेता हो। उसले समूह चरणमा मलेसियाविरूद्ध जित निकाल्दा बंगलादेशसँग पराजित भएको थियो। आयोजक मलेसिया भने २ खेल हारेर समूह चरणबाट बाहिरिएको थियो।
सुपर फोरमा पुगेको टिमले अर्को समूहबाट सुपर फोरमा पुगेका दुवै टोलीसँग खेल्नेछ। नेपालले सुपर फोरको दोस्रो खेल बंगलादेशसँग भोलि खेल्नेछ।
सुपर फोरका शीर्ष दुई टिमले उपाधिका लागि आइतबार भिड्नेछन्।
नेपाली टिम: पुजा महतो (कप्तान), किरणकुमारी कुँवर, साना प्रविन, ज्योत्स्निका मरासिनी, अलिशाकुमारी यादव, साबित्री धामी, त्रिसना विश्वकर्मा, सोनी पाख्रिन, रचनाकुमारी चौधरी, सिमाना केसी, रिया शर्मा, अनु कडायत, कुसुम गोदार, कृष्मा गुरूङ, स्नेहा महरा।