सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दोस्रो क्वालिफायरको खेल हुँदैछ।
दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न १२ बजे खेल सुरू हुनेछ।
बुधबार इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो।
चितवनविरूद्धको खेलमा कर्णालीका लागि डेब्यु गरेका भारतीय ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालाले पावर प्ले सम्हालेका थिए। पछि विलियम बसिस्टो र चाडविक वाल्टनले पनि सानदार ब्याटिङ गरेपछि कर्णालीले चितवनविरूद्ध फराकिलो स्कोर जोडेको थियो।
जिशन मक्सुद, नन्दन यादव र सोमपाल कामीले बलिङ सम्हाल्दा कर्णाली क्वालिफायरमा पुग्न सफल भएको थियो।
समूह चरणको खेलपछि शीर्ष चारमध्ये दोस्रो स्थानमा रहेको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्नुपर्ने अवस्थामा पुगेको हो।
जनकपुरका कप्तान अनिल साहले चोटका कारण पहिलो क्वालिफायर गुमाएका थिए। आजको खेलमा उनी फर्कन्छन् फर्कदैनन् भन्ने जानकारी टिमले औपचारिक रूपमा दिएको छैन। अनिलको अनुपस्थितीले जनकपुरको टिमलाई केही असर भने पार्नेछ जसको फाइदा कर्णालीले उठाउन सक्छ।
लिग चरणको खेलमा भने जनकपुरले कर्णालीलाई सजिलोसँग हराएको थियो। त्यतिबेला कर्णालीले दिएको १४१ रनको लक्ष्य जनकपुरले २ विकेट मात्र गुमाएर १५.१ ओभरमै भेट्टाएको थियो।
आजको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।
जनकपुरका मार्की खेलाडी आशिफ शेखले कर्णालीलाई फेरि जितेर फाइनलमा पुनः सुदूरपश्चिमसँगको भेट पक्का गर्ने आशा व्यक्त गरेका छन्।
‘विश्वास छ कि फाइनलमा हाम्रो भेट हुन्छ र जित्छौं,’ बुधबार सुदूरपश्चिमसँगको खेलपछि उनले भनेका थिए।