सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
चितवन भने बाहिरिएको छ। अब फाइनल प्रवेशका लागि कर्णालीले बिहीबार प्रतिस्पर्धा गर्नेछ।
कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै जनकपुर र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर हुँदैछ। यो खेलको विजेता टोली फाइनल पुग्नेछ।
बुधबार कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेटको क्षतिमा १५४ रन मात्र जोड्न सक्यो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। १८औं ओभरमा नन्दन यादवको बलमा गुल्सन झाबाट क्याच हुनुअघि उनले ५३ रन जोड्ने क्रममा ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
चितवनको ब्याटिङ कुनै पनि बेला सम्हालिन सकेन। ओपनर हसन इशाखिल पहिलो ओभरमा एक रनमा आउट भए। अर्का ओपनर विपिन रावलले भने १८ रन बनाए। दुवैलाई कर्णालीका कप्तान सोमपाल कामीले गुल्सन झाबाट क्याच गराए। विपिन तेस्रो ओभरमा आउट भएका थिए।
त्यसपछि लुक बेन्केस्टाइनले १६ रन र कप्तान कुशल मल्ल २१ रन जोडेर आउट भए। लुकलाई जीशन मक्सुदले छैटौं ओभरमा बोल्ड गर्दा कुशल एघारौं ओभरमा विपिनप्रसाद शर्माबाट बोल्ड भए। १६औं ओभरमा कर्णालीका मक्सुदले दुई विकेट लिए। उनले सन्तोष कार्कीलाई ८ रन र सोहेल तन्विरलाई ४ रनमा क्याच गराएका थिए।
१८औं ओभरमा अमरसिंह रटेउला ९ रन बनाएर खेलिरहदा नन्दन यादवबाट बोल्ड भएका थिए। दोस्रो बलमा अमर पेभिलियन फर्किएपछि पाँचौ बलमा रवी बोपारा पनि छक्का प्रहार गर्ने क्रममा आउट भए। बोपारा आउट भएसँगै आठ विकेट गुमाएको चितवन हार नजिक पुगेको थियो। अन्तिम ओभरमा रिजन ढकाल ७ रनमा रनआउट हुँदा शरद भेषवाकरले १० बलमा नटआउट १० रन जोड्न सके।
बलिङमा कर्णालीका जीशन मक्सुदले ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। कप्तान सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए भने विपिनप्रसाद शर्माले १ विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदान टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो।
जारी एनपिएलमा कर्णालीको यो उच्च योगफल हो। यसअघि कर्णालीले काठमाडौं गुर्खाजविरूद्ध १४९ रन जोडेको थियो। तर यो स्कोर कर्णालीले डिफेन्ड गर्न सकेको थिएन।
कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालाले डेब्यू खेलमै अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दा कर्णालीको योगफल बलियो भयो।
भारतका कोल्सावालाले कर्णालीका लागि पहिलो खेल खेलेका हुन्। आजको खेलमा उनले हङकङका बाबर हायतको ठाँउमा टोलीमा स्थान बनाएका थिए।
कोल्सावालाले ५३ रन जोड्ने क्रममा ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि विलियम बोसिस्टोसँग ५९ रनको साझेदारी गरे।
बोसिस्टोले ५२ रन जोडे। १९औं ओभरमा सोहेल तन्विरबाट बोल्ड हुनुअघि उनले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बोसिस्टोले पाँचौ विकेटका लागि चाडविक वाल्टनसँग ६७ रनको साझेदारी गरे।
वाल्टनले नटआउट ४६ रन जोड्ने क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
बोसिस्टो अस्ट्रेलियाको यू-१९ टोलीका पूर्वकप्तान हुन्। सन् २०१२ को आइसिसी यू-१९ विश्वकपमा उनले अस्ट्रेलियन टोलीको कप्तानी गरेका छन्। त्यतिबेला उनले समूह चरणमा नेपालविरूद्ध पनि खेलेका थिए। जारी लिगमा अलराउन्ड प्रदर्शन गरिरहेका बोसिस्टोले पोखरा एभेन्जर्सविरूद्धको एकै खेलमा ६ विकेट लिएका थिए।
कोल्सावाला तीन वर्षपछि नेपालको फ्रेञ्चाइज लिग खेल्न फर्किएका हुन्। उनले पछिल्लो पटक सन् २०२१ मा एभरेस्ट प्रिमियर लिग खेलेका थिए। ललितपुर प्याट्रिओट्सका लागि खेलेका उनले ४२ रन जोडेका थिए। त्यसपछि उनले ठूला प्रतियोगिता खेलेका थिएनन्।
भारतको गुजरातका उनी बरोडा क्रिकेटको सिनियर टोलीबाट खेलिसकेका खेलाडी हुन्। उनीले एभरेस्ट प्रिमियर लिग मात्र होइन नेपालको धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग समेत खेलेका छन्।
उनी धनगढी प्रिमियर लिगको सन् २०१९ को सिजनमा सिवाइसी अत्तरियामा आबद्ध थिए। यस्तै उनले पोखराको प्रिमियर लिग काठमाडौंबाट खेल्दै ५ खेलमा १३८ रन जोडेका थिए।
वाल्टन, कोल्सावाला र बोसिस्टोले राम्रो खेले पनि नेपाली ब्याटर चल्न सकेनन्। ओपनिङमा आएका रित गौतम शून्यमा दोस्रो ओभरमा चितवनका सोहेल तन्विरको बलमा विकेटकिपर विपिन रावलबाट सामातिए। यस्तै पाँचौं ओभरको अन्तिम बलमा शरद भेषवाकरले जीशन मक्सुदलाई १४ रनमा आउट गरे। आउट हुनुअघि उनले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे।
यस्तै गुल्सन झा पनि शून्यमा कुशल मल्लबाट बोल्ड भएका थिए। देव खनाल अन्तिम ओभरमा ३ रनमा रनआउट भए।
बलिङमा चितवनका सोहेल तन्विरले २ विकेट लिए। उनले ४ ओभरमा २४ रन दिए। रवी बोपारा, शरद भेषवाकर र कुशल मल्लले १-१ विकेट लिन सफल भए।