सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्स अन्तिम खेलमा पराजित भए पनि चौथो बनेर प्लेअफमा पुग्न सफल भयो।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्सले कर्णालीले दिएको १०२ रनको लक्ष्य १६औं ओभर चल्दै गर्दा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।
खेलमा सुदूरपश्चिमले १२ ओभरभित्र लक्ष्य पूरा गरेको भए कर्णाली बाहिरिँदा काठमाडौं गुर्खाज प्लेअफमा पुग्न सक्थ्यो।
यस्तो समिरकणबारे धेरै नसोचेको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल बताउँछन्। उनले १४० बनाएको भए खेल जित्न सकिने आफूहरुको अपेक्षा भएको पनि बताए। तर ब्याटिङमा राम्रो गर्न नसकेको मल्लको भनाइ छ।
सुदूरपश्चिमका लागि पनि ब्याटिङ गर्ने सजिलो विकेट नभएको बताउँदै कर्णालीले पावरप्लेमा राम्रो बलिङ गरेको प्रशिक्षक मल्लको भनाइ छ।
अब चितवन राइनोजविरूद्धको इलिमिनेटर जित्नका लागि खेल्ने तथा ब्याटिङमा सुधार ल्याउने उनले बताए।
उनले चितवन विरूद्धको खेलबारे भने, ‘जित्नका लागि चाहिने सबै फर्मुला अपनाउछौं। यसअघि हामीले राम्रो बलिङ गरेका छौं। बलरले खेल जिताउन सक्छन् भने ब्याटरले पनि खेल जिताउनु पर्यो।’
कर्णालीका लागि सुरुवाती चार खेलमा भारतीय राष्ट्रिय टोलीका पूर्व ओपनर शिखर धवनले खेलेका थिए। जसमा कर्णालीले दुई खेल जित्दा दुई हार ब्यहोरेको थियो।
धवन टोलीमा हुँदा परेको प्रभावबारे ज्ञानेन्द्र भन्छन्, ‘उहाँले गर्दा नेपाल क्रिकेटलाई फाइदा भयो। टोलीका खेलाडीलाई फाइदा भयो। त्यो फाइदा एकैचोटी देखिँदैन। आजको भोलि परिवर्तन हुन्छ भन्ने होइन। त्यो लेभलको क्रिकेट खेलाडीको अनुभव काउन्ट गर्छ। खेलमा देखाउनुपर्ने एप्रोच थाहा हुन्छ।’
धवनले परिस्थितिसँग भिज्न सक्नु पर्ने सिकाएको मल्लको भनाइ छ। ‘उहाँबाट एडजस्टमेन्ट कसरी गर्नु पर्छ भन्ने कुरा थाहा भयो। यो विकेटमा र टोलीमा उहाँलाई खेल्न सजिलो थिएन। तर पनि उहाँ एडजस्ट हुन्छु र खेल्छु भन्नेर आउनु भयो।’
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान मल्ल आजकाल प्रशिक्षकको भूमिकामा देखिँदै आएका छन्। यसअघि नेपालको ‘ए’ टोलीलाई प्रशिक्षण गराएका मल्लले फरक भूमिकाको चुनौतीलाई स्विकार गरेको बताए।
‘अर्को भूमिकामा आउदा फरक त परि नै हाल्छ। कतिपय कुरा यस्तो गर्नर्ने, त्यस्तो भइदिएको भए भन्ने भइरहन्छ,’ उनले भने, ‘मेरो लागि सिक्ने मौका भयो। यसका लागि राम्रो मञ्च पाएको छु। यस्ता चुनौती पनि आइरहन्छ। तर पनि सबैको सहयोगले सजिलो पनि भयो।’