सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका खेल सकिएका छन्। सोमबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै लिग चरणका २८ खेल सकिएका हुन्।
अब एनपिएलका प्लेअफका चार खेल बाँकी छन्। एक वटा इलिमिनेटर, दुई वटा क्वालिफायर र फाइनल गरी चार खेल सकिएपछि आगामी शनिबार पहिलो सिजनको विजेताको टुंगो लाग्नेछ।
शीर्ष स्थानमा रहदै सुदूरपश्चिम प्लेअफमा पुग्दा दोस्रो स्थानमा जनकपुर बोल्ट्स रह्यो। यस्तै चितवन राइनोज तेस्रो र कर्णाली चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन्।
अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर बुधबार दिउँसो प्रतिस्पर्धा गर्नेछन्। विजेता हुने टोली फाइनल पुग्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायर खेल्ने पाउनेछ।
बुधबार बिहान कर्णाली र चितवनबीच इलिमिनेटर हुनेछ। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्दा हार्ने टोली बाहिरिनेछ।
दोस्रो क्वालिफायर बिहीबार हुनेछ। जित्ने टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ।
सोमबार सुदूरपश्चिमले कर्णालीलाई १३ ओभरअघि पराजित गरेको भए काठमाडौं गुर्खाज प्लेअफमा पुग्थ्यो। तर सुदूरले १६ ओभर चल्दै गर्दा कर्णालीले दिएको १०२ रनको लक्ष्य पार गर्यो। सो जितले सुदूरपश्चिम शीर्ष टोली बन्न सफल भयो भने कर्णालीको चौथो बन्दै प्लेअफमा पुग्यो।
खेलमा २९ बलमा ३८ रन र २ विकेट लिँदै प्लेयर अफ दि म्याच बनेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी कर्णालीविरूद्धको खेलमा आफ्नो साधारण खेल खेलेको बताउँछन्।
‘हामी अरुको टोलीलाई प्लेअफमा पुग्न के चाहिन्छ भनेर खेलेका थिएनौं। हामी के गर्न सक्छौं त्यो मात्र सोचिरहेका थियौं। आफ्नो खेल खेलेका थियौं,’ उनले खेलपछि भने।
लिग चरणमा सात मध्ये छ खेल जितेर शीर्ष टोली बनेको सुदूरपश्चिमका सबै खेलाडी लयमा हुनु राम्रो पक्ष भएको दीपेन्द्रको भनाइ छ।
उनले भने, ‘हामी सबैजना राम्रो लयमा छौं। राम्रो खेलिरहेका छौं। अब प्लेअफका लागि हामी तयारी गरिरहेका छौं। त्यहिअनुसकारको माइन्ड सेट पनि तयार गरेका छौं। दबाब कसरी झेल्ने विषयमा काम भइरहेको छ।’
अरू टोलीका खेलाडीले समेत सुदूरपश्चिमले उपाधि जित्ने आँकलन गरिरहेको बेला दीपेन्द्र पनि उपाधिका लागि तयार भएको बताउँछन्।
‘हाम्रो टोली बलियो छ। हामीसँग अलराउन्डर, स्पिनर र मिडयम पेसरमा राम्रा छन्। सबैको जस्तै हाम्रो पनि ट्रफी जित्ने अपेक्षा छ,’ उनले भने।
प्लेअफअन्तर्गत सुदूरपश्चिमले बुधबार पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्ससँग खेल्नेछ। लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो।
‘जनकपुरसँग लिग चरणमा खेलिसकेका छौं। हामी प्लेअफका लागि आफ्नो योजना बनाएर आउछौं। अब खेल मैदानमा देखाउनेछौं। जनकपुरविरूद्ध राम्रो खेल्ने अपेक्षा छ,’ उनले भने।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रतियोगितामा सर्वाधिक फ्यान भएको टोलीमा सुदूरपश्चिम पर्छ। सर्थककका कारण टोलीमा राम्रो प्रभाव परेको भन्दै दीपेन्द्रले धन्यवाद दिए।
‘सबै फ्यानलाई धन्यवाद दिन चाहान्छु। हाम्रो खेलको बेलमा अरु बेलाभन्दा धेरै फ्यान आउनु भएको छ। धेरै हौसला मिलेको छ। प्लेअफ र फाइनलमा पनि आउनु होला,’ दीपेन्द्रले भने।
कर्णालीविरूद्धको खेलमा सुदूरपश्चिमका स्पिनर नरेन साउद फिल्डिङका क्रममा घाइते भएका थिए। उनको चोट सामान्य होस् भन्ने कामना गर्दै दीपेन्द्रले आगामी खेल खेल्न सक्ने विश्वास व्यक्त गरे।