नेपाल प्रिमियर लिग (एनपिएल) लिगमा चितवन राइनोजका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले मंगलबार एकै ओभरमै तीन विकेट लिन सफल भए।
पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले चौथो ओभरमा तीन विकेट लिएका थिए। तीनै विकेट एलबिडब्लूबाट पाएका थिए।
त्यसअघि चितवनका सोहेल तन्विरले पनि पहिलो ओभरमै पोखराका तीन विकेट लिएका थिए। जसका कारण पोखराले सुरूवाती ६ विकेट गुमाउँदा ७ रन मात्र जोडेको थियो।
हेटौंडाका रिजनले पाकिस्तानी बलर सोहेलका कारण टोलीमा आत्मविश्वास बढेको बताए।
‘आफ्नो साथी वा आफूले विकेट लिएपछि आत्मविश्वास बढ्छ,’ रिजनले भने, ‘धेरै पछि यस्तो बलिङ गरे। यसको खुसी शब्दमा व्यक्त गर्न सक्दिनँ। मिहिनेतको फल पाएको जस्तो लाग्छ।’
रिजनले आफ्नो टोलीले विपक्षीको ६ विकेट लिँदा ७ रन मात्र दिएको अवस्थाबारे अघि भने, ‘हामी योजनाअनुसार बलिङ गरिरहेका थियौं। तर यति विकेटले मात्र पनि हुन्न भन्नेमा हामी थियौं। लास्ट बलसम्म खेल सकिँदैन नी। पोखराका नारायण र विपिनले राम्रो खेलिहरेका थिए। हामीले खेल छाडेका थिएनौं। तर खुसी चाहि थियौं।’
चितवनको टोलीमा पाकिस्तानका तन्विरसँगै इंग्ल्यान्डका रवी बोपार हुँदा टोली सन्तुलित रहेको बताए। उनीहरूबाट धेरै कुरा सिकेको उनले बताए।
उनले भने, ‘रवी र तन्विरका कारण युवा खेलाडी उत्सहित छन्। उनीहरूका कारण प्रदर्शन पनि भइरहको छ। २० वर्षदेखि क्रिकेट खेलिरहेका तन्विर र बोपारा जस्ता खेलाडी हुँदा हाम्रो टोली सन्तुलित छ। तन्विरलाई होटलमा पनि हामी सोधिरहेका हुन्छौं। उहाँले खुलेर हामीलाई सिकाइरहनु भएको छ।’
प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेपछि रिजन गत वर्ष राष्ट्रिय टोलीमा परेका थिए। उनले नेपाली टोलीबाट तीन एकदिवसीय र ६ टी-२० खेल खेलिसकेका छन्।