नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा तीन खेल सकिँदा जनकपुर बोल्ट्सबाहेक अरू टोलीलाई ब्याटिङ गर्न संघर्ष गर्नुपरेको छ।
ब्याटिङमा संघर्ष गर्ने टोलीमा सोमबारको दोस्रो खेल खेलेको कर्णाली याक्स पनि छ। पहिले ब्याटिङ गरेको कर्णालीले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो। त्यसअघि ब्याटिङमा संघर्ष गर्दा उसले १४१ रन मात्र जोड्न सक्यो।
१४२ रनको लक्ष्य जनकपुरले २ विकेटको क्षतिमा १५.१ ओभरमै पूरा गरिदियो।
खेलपछि कर्णालीका कप्तान सोमपाल कामीले आफ्नो टोलीको ब्याटिङ र बलिङ दुवै राम्रो भएकाले ब्याटिङ रोजेको बताए।
‘राम्रो टार्गेट सेट गरेपछि अर्को टोलीलाई गाह्रो हुन्छ भनेर हामीले ब्याटिङ रोजेका हौं,’ सोमपालले भने, ‘त्यसैले टस जितेर ब्याटिङ रोजेकोमा कुनै पश्चाताप छैन। खेल हारेकोमा त दु:ख लागिहाल्छ।’
खेलमा १७० रनभन्दा बढी जोड्ने लक्ष्य राखे पनि ३० रन कम भएको सोमपालको भनाइ छ।
सुरूमा साझेदारी गरेर अघि बढ्ने योजना सफल नभएकोले ब्याटिङमा समस्या देखिएको उनले बताए। उनले विदेशी खेलाडीसहित सबैलाई जिम्मेवारी दिएको बताए। एक दिन कोही नचलेको अवस्थामा नराम्रो भन्न नमिल्ने उनको भनाइ छ।
कर्णालीका विदेशी खेलाडी शिखर धवन (१४ रन) सहित चाडविक वाल्टन (८ रन), बाबर हायत (१२ रन) र जिशन मक्सुदले (०) राम्रो ब्याटिङ गर्न जोड्न सकेनन्।
‘हामीले सबैलाई जिम्मेवारी दिएका थियौं। दिएको जिम्मेवारी पूरा गर्न त गाह्रो हुन्छ। प्रतियोगिता लामो छ। हामी अरू खेलमा राम्रो खेल्नेछौं,’ उनले भने, ‘कुनै एक खेलमा राम्रो गर्न सकेन भनेर जज गर्न मिल्दैन। यहाँको विकेट बुझ्नलाई समय लाग्छ।’