नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार चितवन राइनोजको जितमा पाँच विकेट लिएका पाकिस्तानी बलर सेहेल तन्विरले नेपाली दर्शकका अघि क्रिकेट खेल्दा रमाइलो अनुभव गरेको बताएका छन्।
चितवनले जनकपुर बोल्ट्समाथि पाँच विकेटको जित निकालेको खेलमा तन्विरले पाँच विकेट लिँदा २१ रन खर्चिएका थिए। एनपिएलको एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका तन्विर प्लेयर अफ दि म्याच समेत बने।
सन् २००८ मा आइपिएल टोली राजस्थानबाट उपाधि जितेका तन्विर एक वर्षपछि पाकिस्तानले टी-२० विश्वकप जित्ने टोलीमा थिए।
३९ वर्षीय तन्विरले सोमबार चितवनका लागि खेलपछि भने, ‘दर्शकका अघि क्रिकेट खेल्न पाइएन भने कुनै मजा हुँदैछ। मैले नेपाली क्रिकेटका फ्यानबारे यसअघि पनि भिडिओ हेरेको थिएँ। त्यसैले आजको खेलमा पनि मैले धेरै समर्थकको आशा गरेको थिएँ,’ उनले भने, ‘आज मैदान आउने सबै समर्थकलाई धेरै धन्यवाद दिन चाहन्छु।’
उनले चितवनको टोलीमा युवा खेलाडी भएको बताउँदै उनीहरूलाई आफ्नो अनुभव बाँड्ने बताए।
‘हाम्रो टोलीमा युवा खेलाडी छन्। यी युवा खेलाडीलाई मेरो अनुभव सेयर गर्नेछु। २० वर्षको अनुभव मेरो टोलीका लागि मात्र होइन, अरूलाई पनि सेयर गर्न तयार छु,’ उनले भने, ‘मैले यसअघि पनि टोली व्यवस्थापनलाई भनिसकेको छु। नेपाली क्रिकेटलाई सबै खाले सहयोग गर्न तयार छु।’
उनले आफू जस्ता खेलाडी आएर एनपिएल खेल्दा नेपाली क्रिकेटलाई फाइदा पुग्ने समेत बताए।
‘मैले आइपिएलबाट आफ्नो टी-२० करिअर सुरू गरेको थिएँ। मैले त्यसपछि पाकिस्तान सुपर लिग पनि खेलेँ। त्यसयता टी-२० धेरै परिवर्तन भइसकेको छ। आगामी दिनमा यो लिग निरन्तर भए नेपालको क्रिकेटलाई सहयोग गर्नेछ।’
उनले आज पाँच विकेट लिन सक्नुको कारण आफ्नो अनुभव भएको बताए।
‘मैले क्रिकेटका चार सय भन्दा बढी खेलेको छु। त्यो अनुभवले आज काम गरेको हो। मैले कन्डिसन नियालेर बलिङ गरेँ। टी-२० मा बलिङ गर्न कहिल्यै सजिलो हुँदैन। अझ आज स्लो पिच थियो। योजनाअनुसार बलिङले गर्दा काम गरेकाले आज मेरा लागि लक्की डे हो,' उनले प्लेयर अफ दि म्याचको ट्रफी लिएपछि भने।