नेपाल प्रिमियर लिग (एनपिएल) का लागि तयार गरिएको कीर्तिपुरस्थित त्रिवि मैदानको नयाँ पिचले ब्याटरलाई खासै साथ दिएको छैन।
पहिलो दिन जस्तै सोमबार भएको दोस्रो दिनको खेलमा पनि पिचले बलरलाई साथ दियो।
जसमा काठमाडौं गुर्खाजमाथि चितवन राइनोजले ५ विकेटको जित निकाल्यो।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य भेट्टाउन चितवनलाई सहज भएन। उसले १७.१ ओभरमा ५ विकेट गुमाउर लक्ष्य भेट्टायो।
चितवनका लागि सन्तोष कार्कीले नटआउट २८ रन र शरद भेषवाकरले नटआउट ११ रन जोडे। सन्तोषले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शरदले २१ बलमा कुनै बाउन्ड्री हान्न सकेनन्।
त्यसअघि ओपनर दीपक बोहराले ७ रन र हसन इशाखिलले १२ रन जोडे। दुवैलाई काठमाडौंका स्पिनर साहब अलामले आउट गरे। दीपक दोस्रो ओभरको अन्तिम बलमा एलबिडब्लूको धरापमा पर्दा इशाखिल चौथो ओभरमा विकेटकिपर इस्किनाजीबाट स्टमपिन भए।
पावरप्लेमा दुई विकेट गुमाएको चितवनले सातौं ओभरमा लुक बेकेस्टाइनलाई २२ रनमा गुमायो। गेराल्ड इरासमसको एलबिडब्लूको धरापमा पर्नुअघि उनले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे।
कप्तान कुशल मल्ल र रवी बोपाराले ११-११ रन मात्र जोड्न सके। बोपारालाई साहब अलामले आउट गर्दा कुशल डाउथबेटको बलमा क्याच भए।
बलिङमा काठमाडौंका सहाबले तीन विकेट लिए। उनले चार ओभरमा २० रन खर्चिए।
त्यसअघि सोहेल तन्विरले पावरप्लेको आफ्नो तीन ओभरको स्पेलमा तीन र १९औं ओभरमा दुई विकेट गरी कुल पाँच लिएपछि चितवनले काठमाडौंलाई १११ रनमा रोक्यो।
टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो।
पाकिस्तानका लागि सन् २००९ मा टी-२० विश्वकप तथा सन् २००८ बाट राजस्थानबाट आइपिएल जितेका ३९ बर्षीय तीव्र गतिका बलर तन्विरले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा इंग्लिस ब्याटर स्टेफन इस्किनाजीलाई २ रनमा अमरसिंह रटेउलाबाट क्याच गराए।
चौथो ओभरमा दोस्रो सफलता हात पार्ने क्रममा उनले काठमाडौंका डच ब्याटर माइकल लेभिटलाई दिपक बोहराबाट क्याच गराए। लेभिटले आउट हुनुअघि १६ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे।
यस्तै उनले छैटौं ओभरमा भीम सार्कीलाई स्कुप सट प्रहार गर्न लाग्दा १ रनमा एलबिडब्लूको धरापमा पर्दै आफ्नो पहिलो तीन ओभरको स्पेलमा तीन विकेट लिन सफल भए।
त्यसअघि चितवनका लागि कप्तान मल्लले काठमाडौंका गेराल्ड इरासमसलाई ४ रनमा बोल्ड गरे। जसका कारण काठमाडौं पावरप्लेको ६ ओभरमा ४ विकेट गुमाउँदा ३९ रन मात्र जोडेको थियो।
त्यसपछि पनि काठमाडौंको विकेट जाने क्रम रोकिएन। विहानी शत्रमा बलरलाई पिचले साथ दिँदा काठमाडौंमाथि चितवन हाबी बनेको थियो।
शंकर रानालाई ११औं ओभरमा अमरले १६ रनमा आउट गरे। उनले आउट हुनुअघि १ चौका र १ छक्का प्रहार गरे।
रसिन खानले पनि राम्रो ब्याटिङ गर्न सकेनन्। उनलाई बेन्केस्टाइनले शरद भेषवाकरबाट ४ रनमा क्याच गराए। त्यसपछि काठमाडौंको ब्याटिङ सुमित महर्जनले सम्हाल्न खोजे। उनले रिजन ढकालको बलमा क्याच हुनुअघि ४१ बलमा २९ रन जोडेका थिए।
कप्तान करण केसी पनि ब्याटिङमा चल्न सकेनन्। उनलाई १ रनमा तन्विरले १९औं ओभरको पहिलो बलमा सन्तोष कार्कीबाट क्याच गराए। यो ओभरको पाँचौ बलमा उनले शाहब अलामलाई १ रनमा कप्तान मल्लबाट क्याच गराउँदा तन्विरले पाँच विकेट लिन सफल भए। तन्विरले चार ओभरमा २३ रन मात्र खर्चिए।
काठमाडौंका डान डाउथवेटले नटआउट १९ रन जोडे। उनले १८ बलमा २ चौका प्रहार गरे।
बलिङमा तन्विरले पाँच विकेट लिँदा चितवनका रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रटेउला र बेन्केस्टाइनले एक एक विकेट लिए।