सोहेल तन्विरले पावरप्लेको आफ्नो तीन ओभरको स्पेलमा तीन र १९औं ओभरमा दुई विकेट गरी कुल पाँच लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई १११ रनमा रोकेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो।
पाकिस्तानका लागि सन् २००९ मा टी-२० विश्वकप तथा सन् २००८ बाट राजस्थानबाट आइपिएल जितेका ३९ बर्षीय तीव्र गतिका बलर तन्विरले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा इंग्लिस ब्याटर स्टेफन इस्किनाजीलाई २ रनमा अमरसिंह रटेउलाबाट क्याच गराए।
चौथो ओभरमा दोस्रो सफलता हात पार्ने क्रममा उनले काठमाडौंका डच ब्याटर माइकल लेभिटलाई दिपक बोहराबाट क्याच गराए। लेभिटले आउट हुनुअघि १६ बलमा ४ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे।
यस्तै उनले छैटौं ओभरमा भीम सार्कीलाई स्कुप सट प्रहार गर्न लाग्दा १ रनमा एलबिडब्लूको धरापमा पर्दै आफ्नो पहिलो तीन ओभरको स्पेलमा तीन विकेट लिन सफल भए।
त्यसअघि चितवनका लागि कप्तान मल्लले काठमाडौंका गेराल्ड इरासमसलाई ४ रनमा बोल्ड गरे। जसका कारण काठमाडौं पावरप्लेको ६ ओभरमा ४ विकेट गुमाउँदा ३९ रन मात्र जोडेको थियो।
त्यसपछि पनि काठमाडौंको विकेट जाने क्रम रोकिएन। विहानी शत्रमा बलरलाई पिचले साथ दिँदा काठमाडौंमाथि चितवन हाबी बनेको थियो।
शंकर रानालाई ११औं ओभरमा अमरले १६ रनमा आउट गरे। उनले आउट हुनुअघि १ चौका र १ छक्का प्रहार गरे।
रसिन खानले पनि राम्रो ब्याटिङ गर्न सकेनन्। उनलाई बेन्केस्टाइनले शरद भेषवाकरबाट ४ रनमा क्याच गराए। त्यसपछि काठमाडौंको ब्याटिङ सुमित महर्जनले सम्हाल्न खोजे। उनले रिजन ढकालको बलमा क्याच हुनुअघि ४१ बलमा २९ रन जोडेका थिए।
कप्तान करण केसी पनि ब्याटिङमा चल्न सकेनन्। उनलाई १ रनमा तन्विरले १९औं ओभरको पहिलो बलमा सन्तोष कार्कीबाट क्याच गराए। यो ओभरको पाँचौ बलमा उनले शाहब अलामलाई १ रनमा कप्तान मल्लबाट क्याच गराउँदा तन्विरले पाँच विकेट लिन सफल भए। तन्विरले चार ओभरमा २३ रन मात्र खर्चिए।
काठमाडौंका डान डाउथवेटले नटआउट १९ रन जोडे। उनले १८ बलमा २ चौका प्रहार गरे।
बलिङमा तन्विरले पाँच विकेट लिँदा चितवनका रिजन ढकाल, कुशल मल्ल, अमरसिंह रटेउला र बेन्केस्टाइनले एक एक विकेट लिए।