शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी सुरूआत गर्न सफल भयो।
जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको जितका साथ एनपिएलको यात्रा सुरू गरेको हो।
खेलपछि जनकपुरका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताए।
‘खेलको निकै मजा लियौं। एनपिएलका खेल ठूला हुन्छ भन्ने थाहा थियो। त्यसैले हामीले खेलका लागि तयारी गरेका थियौं,’ खेलपछि उनले भने, ‘जितका साथ प्रतियोगिता सुरूआत गर्न पाउँदा खुसी लागेका छ। हामी उत्साहित छौं। यो नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो। सबैले लिगलाई सफल बनाउन समर्थन गर्नुपर्छ जस्तो लाग्छ।’
उनले खेलमा प्रशिक्षक पुबुदु दासानायकेको योजनाले काम गरेको पनि बताए।
‘हामीले खेलका लागि सजिलो योजना बनाएका थियौं,’ उनले भने, ‘हामी सबैले आ-आफ्नो उत्कृष्ट खेल्ने तयारी गरेका थियौं।’
स्पिनर ललित राजवंशी आफ्नो टोलीका लागि म्याच विनर भएको पनि उनले बताए। खेलमा ललितले तीन विकेट लिएका थिए।
साथै तीव्र गतिका बलर किशोर महतोले पनि टोलीमा राम्रो प्रभाव पारेको समेत उनको भनाइ थियो।
‘किशोरले अस्ट्रेलियामा खेलिरहेको थियो। हामीले उसलाई नेपाल बोलाउन तयारी गरेका थियौं,’ अनिलले भने।
खेलमा ब्याटिङमा अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकन मूलका ब्याटर लाहिरू मालिन्थाले नटआउट ७५ रन जोडे। साथै क्यानडाका अलराउन्डर हर्ष थाकरको पनि जनकपुरको टोलीमा राम्रै प्रभाव पर्यो। उनले नटआउट २९ रन जोड्दा २ विकेट लिए।
यो पनि:
मार्टिन गप्टिल भन्छन्- त्रिवि मैदानको पिचमा ब्याटिङ गर्न सजिलो थिएन