इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ का लागि भएको अक्सनमा १३ वर्षीय वैभव सूर्यवंशी सर्वाधिक चर्चामा रहने खेलाडी बनेका छन्।
सोमबार सकिएको आगामी सिजनको मेघा अक्सनमा सूर्यवंशीलाई राजस्थान रोयल्सले १ करोड १० लाख भारूमा (१ करोड ७६ लाख नेपाली रूपैयाँ) टोलीमा आबद्ध गरेको छ।
बिहारका युवा खेलाडी वैभव बायाँ हाते शीर्ष क्रममा ब्याट्सम्यान हुन्। राजस्थानले पौने २ करोड खर्च गरेर टोलीमा आबद्ध गरेसँगै उनी आइपिएल टोलीमा आबद्ध हुने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
आइपिएल टोलीमा आबद्ध भएको दिन उनी १३ वर्ष २४३ दिन उमेरका थिए। सूर्यवंशीले यसअघि नै भारत यू-१९ बाट खेलिसकेका छन्। यस्तै दुई महिनाअघि चेन्नईमा भएको चारदिवसीय खेलमा अस्ट्रेलिया यू-१९ विरुद्ध ब्याटिङ गर्दै शतक बनाएका थिए। उनले सो शतक ५८ बलमा पूरा गर्दै सनसनी मच्चाएका थिए।
अक्सनको उनको न्यूनतम मूल्य ३० लाख भारू थियो। जहाँ सुरूदेखि नै राजस्थान र दिल्ली क्यापिटलबीच उनलाई भित्र्याउन प्रतिस्पर्धा चलेको थियो।
‘उनी नागपुरमा भएको अस्ट्रेलिया यू-१९ विरुद्धको खेलसँगै हाम्रो नजरमा थिए। हामीले त्यहाँ उनको ट्रायल समेत लिएका थियौं। उनले हाम्रो कोचिङ स्टाफलाई साँच्चै प्रभावित पारेका थिए,’ राजस्थानका सिइओ जेक लुश म्याक्रमले अक्सनपछि क्रिक इन्फोलाई प्रतिक्रिया दिएका छन्, ‘उनी अविश्वसनीय प्रतिभा हुन्। उनी आइपिएलको माथिल्लो स्तरसम्म पुग्न सक्छन्। त्यसैले आगामी महिनाहरूमा उनलाई तिखार्न प्रशिक्षण हुनेछ। उनलाई टोलीमा आबद्ध गर्न पाएकोमा उत्साहित छौं।’
पटनाबाट लगभग सय किलोमिटर उत्तर-पूर्वी सहर समस्तीपुरमा सूर्यवंशीको घर छ।
उनले २०२४ को सुरुमा बिहारबाट मुम्बईविरुद्ध खेल्दै पहिलो श्रेणीको क्रिकेटमा डेब्यू गरेका थिए। त्यसपछि उनले पाँच रणजी ट्रफी खेल खेलेका छन्। हाल उनले बिहारका लागि सैयद मुश्ताक अली ट्रफीमा टी-२० खेल खेलिरहेका छन्।
अस्ट्रेलिया यू-१९ विरुद्ध मात्र ५८ बलमा शतक बनाएपछि सूर्यवंशी यो स्तरमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। यसअघि बंगलादेशका वर्तमान कप्तान नजमुल हुसेन शान्तोले १४ वर्षको उमेरमा बनाएको पुरानो कीर्तिमान सूर्यवंशीले तोडेका थिए।
सूर्यवंशीले बिहारमा भएको यू-१९ प्रतियोगितामा उत्कृष्ट खेल देखाएका थिए। रणधीर वर्मा प्रतियोगितामा उनले नटआउट ३३२ रन बनाउँदै ट्रिपल सेन्चुरीको कीर्तिमान बनाएका थिए।
उनका औपचारिक प्रशिक्षक भने उनका पिता सञ्जीव सूर्यवंशी हुन्। सञ्जीव पनि एक क्रिकेटर पनि थिए, तर उनले उच्च स्तरका प्रतियोगिता खेल्न सकेनन्। त्यसपछि उनी कोचिङतिर लागे र आफ्नो छोरा वैभवलाई पनि सिकाए।