एसिसी यू-१९ एसिया कप २०२४ खेल्न युएई प्रस्थान गर्नुअघि युवा टोलीका प्रशिक्षक शक्ति गौचनले उत्कृष्ट नतिजा ल्याउने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित विदाइ कार्यक्रममा शक्तिले ‘वेस्ट रिजल्ट’ दिने बताए।
‘यू-१९ राष्ट्रिय प्रतियोगितापछि हामीले १८ जना खेलाडी छानेका थियौं। लगत्तै क्यानले भारतको कर्नाटक यू-१९ टोलीसँग अभ्यास खेल मिलायो। जसले निकै फाइदा पुगेको छ,’ शक्तिले भने, ‘हामी दबाबरहित तरिकाले खल्नेछौं। वेस्ट रिजल्ट ल्याउछौ भन्ने विश्वास छ।’
कार्यक्रममा टोलीका कप्तान हेमन्त धामीले पनि भारतको राज्यस्तरीय टोलीसँग अभ्यास खेल खेलेर तयारी गरेको बताउँदै राम्रो खेल्ने बताए।
नेपाल क्रकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीलाई दबाबरहित तरिकाले खेल्न सुझाव दिए।
यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पनि नेपाली यू-१९ टोली भविष्यको नेपाली टोली भएको हुँदा सबै खेलाडीलाई दबाब नलिइ आफ्नो क्षमता देखाउन आग्रह गरे।
यसअघि एसिया कपका लागि तीव्र गतिका बलर हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको थियो।
टोलीमा कप्तान हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार छन्।
यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्।
एसिया कपमा नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।