घरेलु टोली अस्ट्रेलियाविरूद्धको पाँच खेलको टेस्ट सिरिजमा भारतले विजयी सुरूवात गरेको छ। सोमबार पर्थमा सकिएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २९५ रनले पराजित गर्दै सिरिजमा विजयी सुरूवात गरेको हो।
भारतले दिएको ५३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया दोस्रो इनिङ्ग्समा २३८ रनमा अलआउट भयो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रन बनाए भने मिचेल मार्सले ४७ रन जोडे।
त्यसअघि अस्ट्रेलियाका सुरुवाती चार ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए।
दोस्रो इनिङग्समा बलिङमा भारतका कप्तान जसप्रित बुमराह र मोहमद सिराजले ३-३ विकेट लिए। वासिङटन सुन्दरले २ विकेट लिन सफल भए।
त्यसअघि दोस्रो इनिङ्ग्समा भारतले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ६ विकेटको क्षतिमा ४८७ रन बनाएर इनिङ्ग्स समाप्तीको घोषणा गरेको थियो। जससँगै भारतले ५३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
भारतका लगि यसश्वी जैसवालले १६१ रन र विराट कोहलीले नटआउट १०० रन जोडेका थिए।
पहिलो इनिङ्ग्समा भने भारत र अस्ट्रेलिया दुवैले खराब ब्याटिङ गरेका थिए। भारत १५० रनमा अलआउट हुँदा अस्ट्रेलिया १०४ रनमै समेटिएको थियो।
दुवै इनिङ्ग्समा गरी ८ विकेट लिएका भारतका कप्तान जसप्रित बुमराह प्लेयर अफ दि म्याच घोषित भए।